ओलीको पसिना छुट्ने गरि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले बनायो नयाँ रणनीति

शुक्रबार, १९ मंसिर २०८२

काठमाडौं— केपी ओलीको पसिना छुट्ने गरि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले नयाँ रणनीति बनाएको छ ।

एमालेको ११औँ महाधिवेशनका लागि अलग अवधारणापत्र तयार पार्दै पोखरेल समूहले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध प्यानल बनाएर चुनौती दिने तयारी छ। पोखरेल पक्षका अनुसार विरोध व्यक्तिको होइन, पद्धति र संगठनात्मक सुधारको हो।

अवधारणापत्र दुई दिनभित्र सार्वजनिक गर्दै उनीहरूले नीति, कार्यशैली र बहुदलीय जनवाद कमजोर भएको आरोपसमेत स्पष्ट पार्ने जनाएका छन्। ईश्वर समूहको यो चुनौतीलाई धेरैले ओलीको दातबाट पसिना निकाल्ने संकेतका रुपमा टिप्पणी गर्न थालेका छन् ।

प्रतिनिधि चयनको विषयले कतिपय जिल्लामा खिचोला पनि उत्पन्न गरेको छ। पोखरेल पक्षले ओखलढुंगाबाट एकलौटी प्रतिनिधि ल्याएको भन्दै त्यसलाई उल्ट्याएर चुनाव गर्न ओलीले ठाडो निर्देशन दिए। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पाँच दिनको समय दिएर पत्र नै पठाए।

यसप्रति असन्तुष्ट पोखरेलले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईलाई साथै लगेर ओलीसँग बिहीबार भेट गरे। उनले ओलीसँग सबैलाई समान व्यवहार गर्न आग्रह गरे।

सचिवालय बैठक बसेर प्रतिनिधि विवाद हल गर्नुपर्‍यो भन्यौँ,’ उपाध्यक्ष शाक्यले भनिन्, ‘कहीँ कस्तो निर्देशन गएको छ, कहीँ कस्तो, यसमा एकरुपता हुनुपर्‍यो। विवाद भएका ठाउँबारे सचिवालयमा छलफल गर्नुपर्‍यो भनेर अध्यक्षलाई भन्यौँ।’

जबकि, ओली पक्षले २३ सय प्रतिनिधिमध्ये ७० प्रतिशत आफ्नो पक्षको आएको दाबी गर्न थालेको छ। जम्मा ३० प्रतिशत मात्र पोखरेल पक्षका प्रतिनिधि चुनिएको ओली पक्षका नेताहरू बताउँछन्।

महाधिवेशनका लागि निर्णायकमध्येका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ आफ्नो पक्षमा खुलेपछि ओली समूह केही हौसिए पनि ओलीको पक्षमा पहिले नै नखुलेको र अहिले पनि बलियो रुपमा प्रस्तुत नभएको भन्दै अझै असन्तुष्ट छ।

पौडेलले ओलीलाई अध्यक्ष बनाउन कुनै समस्या नरहेको भन्दै आफ्नो धार खुलाए पनि उनी पहिले पहिले जस्तो ओलीको पक्षमा माहोल बनाउन खुलेर हिँडेका छैनन्। यसले ओलीलाई अझै सशंकित बनाइरहेको छ।

त्यसैले पनि महाधिवेशनमा चुनाव नै हुने र लामो समयसम्म आफ्नै समूहमा साथ दिएका पोखरेलको चुनौतीलाई ओलीले सामान्य लिएका छैनन्।

मंसिर ४ गतेको सचिवालय बैठकमा पोखरेलले ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरे।

‘म अब पार्टी हाँक्छु, तपाईं पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुस्, तपाईंले नमाने महाधिवेशनमा प्रतिस्पर्धा गर्छु। तपाईँका पछिल्ला कार्यशैली, व्यवहार, दृष्टिकोण र निर्णयलाई जनताले रुचाएका छैनन्,’ पोखरेलको भनाइ थियो।

पोखरेलले मंसिर ९ गते एमालेको अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरे।

ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेसँगै उनले एमालेमा फेरि राजनीति गर्ने अवसर नपाएपछि पोखरेल अघि सरेका हुन्।

महाधिवेशन प्रतिनिधिको मन जित्न यो समूहले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र एमालेमा लामो समय राजनीति गरेर उपाध्यक्ष भइसकेकी विद्या भण्डारीको विरासतलाई अघि सारेको छ।

जबज भर्खरैसम्म एमालेको मार्गनिर्देशक सिद्धान्तका रुपमा कायम थियो। विद्या भण्डारीसँग दूरी बढेपछि ओलीले यसलाई किनारा लगाएका छन्।

जबजका अलावा २०५१ सालमा प्रधानमन्त्री हुँदा मनमोहन अधिकारीले ल्याएका जनमुखी कार्यक्रमले एमालेलाई देशव्यापी रुपमा स्थापित गरेको थियो।

पोखरेलले प्रचार सामग्रीमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र अधिकारीको पनि तस्बिर राखेका छन्।

नेकपा संस्थापकदेखि मदन भण्डारीसम्मको विरासत आफूहरूसँग रहेको दाबी विद्या–ईश्वर समूहले गरेको छ। यो रणनीतिले एमालेका खास नेता र कार्यकर्ताको मन जित्न सकिने र महाधिवेशनमा आफ्नो पल्ला भारी गर्न सकिने उनीहरूको बुझाइ छ।

तर, ओली समूहले ओलीको मात्रै तस्बिर राखेर प्रचार सामग्री बनाएको छ।

‘प्रतिनिधि चयन राम्रो छ। प्रतिस्पर्धा भयंकर छ,’ पोखरेल पक्षमा खुलेका एक पदाधिकारीले भने।

‘केपी शर्मा ओलीलाई फेरि मत दिनु भनेको पछिल्लो राजनीतिको मर्मलाई नबुझ्नु हो,’ उनले भने, ‘यो कुरालाई प्रतिनिधिले गहन रुपमा लिएका छन्।’

‘प्रतिनिधिले आफ्नो विवेक प्रयोग गर्छन्, पार्टीलाई एकताबद्ध बनाउने दायित्व सबैको हो,’ ती पदाधिकारीले थपे, ‘पार्टीलाई नयाँ सन्दर्भमा पुनर्गठन गर्नुपर्‍यो। एउटै नेतृत्व दसौँ, बीसौँ वर्ष बस्ने कुरा भएन। पार्टीमा नयाँपन पनि दिनुपर्‍यो। त्यसकारण प्रतिनिधिले अहिलेको समाजको आवाज के छ भनेर ध्यान दिन्छन्।’

महाधिवेशनमा आफ्नो–आफ्नो बनाउने टिम काम भइरहेको दुवै तर्फका नेताहरू बताउँछन्।

‘हामीले अध्यक्षमा ईश्वर पोखरेललाई अघि सारेर प्रचार प्रसार थालिसकेका छौँ,’ उपाध्यक्ष शाक्यले भनिन्, ‘अरु टिम विस्तारै बन्छ।’

उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ओलीको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दा आफूहरूलाई थप सहज भएको पोखरेल समूहको बुझाइ छ। तर यति हुँदा पनि ओलीले पदाधिकारीको टिमबारे मुख नखोलेपछि पोखरेल पक्षले आफ्नो टिम बनाउन सकिरहेको छैन। अध्यक्षमा पोखरेलको नाम सार्वजनिक भए पनि पदाधिकारी टिमबारे अलमल देखिएको छ।

‘हरेक नेताको विचार सार्वजनिक गर्ने कुरालाई स्वागत गर्नुपर्छ, विचार व्यक्त नगर्ने, भित्रभित्र अनेक काम गर्नुभन्दा त प्रस्ट विचार व्यक्त गर्नु राम्रो नि त,’ पोखरेल पक्षका अर्का पदाधिकारीले भने, ‘त्यसो हुँदा हामीले अर्को रणनीति बनाउने अवसर पायौँ।’

प्रतिनिधि चयनमा ओलीले देखाएको व्यवहारले पोखरेल खुसी छैनन्। त्यही भएर उनीहरूले बिहीबार थापागाउँस्थित सम्पर्क कार्यालयमा प्रतिनिधि चयनपछिको अवस्थाबारे लामो छलफल गरेका छन्।

उता, दुई वटा प्यानलै बनाएर महाधिवेशनको चुनावमा जाँदा पार्टीमा प्रस्ट विभाजन देखिने भएकोले त्यसो नगर्न र मिलाएर लैजान उपाध्यक्ष पौडेल लगायत केही नेता लबिइङमा पनि छन्।

तर, पोखरेलले उम्मेदवारी दिने अडानबाट पछि नहट्ने सन्देश दिएका छन्।

‘सचिवालय बैठकमा ईश्वर पोखरेलले भनिसक्नुभएको छ, स्वस्थ प्रतिस्पर्धा गर्ने भनेर,’ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘लोकतन्त्रमा विश्वास गर्ने भएपछि उसले उसलाई छोड् किन भन्नुपर्‍यो। स्वस्थ प्रतिस्पर्धामा जाने नि। सचिवालय बैठकमा सहमति नभइसकेपछि अब दुई जना अध्यक्षमा उठ्नुहुन्छ र निर्वाचन हुन्छ।’

सो कुरा अध्यक्ष ओलीलाई पनि भनेको शाक्य बताउँछिन्।

‘लोकतन्त्रमा विश्वास गरेपछि निर्वाचनबाटै आएको भए भइहाल्थ्यो नि, जालझेल किन गर्नुपथ्र्यो? आखिर यताबाट गए पनि उताबाट गए पनि एमाले नै हो। अलि भएन, यसमा ध्यान दिनुस् भनेर कुरा राख्यौँ,’ उनले थपिन्।