प्रधानमन्त्री शुसिला कार्कीले जेनजी आन्दोलनको बेइज्जत गरेको जेनजी अभियन्ताहरुको आरोप

आइतबार, २१ मंसिर २०८२

काठमाडौं— जेनजी अभियन्ताहरुले प्रधानमन्त्री शुसिला कार्कीलाई आन्दोलनको बेइज्जत गरेको आरोप लगाएका छन् ।

अभियान्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको धज्जी उडाएको आरोप लगाउदै राजीनामाको मागसमेत गरेका छन् ।

आफ्ना सहकर्मी एवं अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुंगानाले वर्तमान सरकारले आन्दोलनको भावना र मर्मलाई अपमान गरेको भन्दै आक्रोश पोखेका छन् ।

गठन भएको तीन महिना बितिसक्दा पनि सरकारले कुनै उपलब्धिमूलक काम गर्न नसकेको उनको आरोप छ ।

‘हाम्रो माग एकदमै सरल र नेपाली जनताको हितका लागि छ। आन्दोलनले देश विकास हुने ठुलो सम्भावना बोकेको थियो, तर यो सरकारले त्यसलाई हाइज्याक गर्‍यो,’ ढुंगानाले भने।

सरकार गठन भएको तीन महिना बितिसक्दा पनि कुनै उपलब्धिमूलक काम नभएको उनको आरोप छ। ‘हामीले तीन महिना त दिएको हो, तर उहाँले कुनै पनि सिग्निफिकेन्ट र महत्त्वपूर्ण काम गर्नुभएन,’ उनले भने, ‘त्यही भएर हामीले अभियान चलाइरहेका छौँ।’

ढुंगानाले सरकारलाई चेतावनी दिँदै भने, ‘यदि सक्नुहुन्छ र आन्दोलनको मर्म बुझ्नुहुन्छ भने त्यही अनुसार काम गर्नुस्, नत्र भने राजीनामा दिनुस्। हामी सोझो कुरा गर्छौँ।’

आन्दोलनको बलमा बनेको सरकारले नै काम गर्न नसकेको भन्दै उनले निराशा व्यक्त गरे। ‘आन्दोलनपछिको सरकारले नगरे अब आउने निर्वाचित सरकारले गर्छ कि गर्दैन भन्ने आस त गर्नै सकिएन। हामीले बारम्बार विश्वास गरिरहेका हौँ,’ उनले थपे, ‘बरु राजीनामा दिनुस्, बाँकी काम हामी सबै मिलेर गोलमेच सम्मेलन गरेर अघि बढाउन सकिन्छ।’