एमाले महाधिवेशन : ओली–पोखरेल प्रतिस्पर्धा कछुवा–खरायोको दौड जस्तो

सोमबार, २२ मंसिर २०८२

नेकपा (एमाले) २०४६ सालको जनआन्दोलनका मुख्य हितधारकमध्ये रहेको संयुक्त वाम मोर्चाका दुई प्रमुख घटक नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी)को एकीकरणबाट बनेको, बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्ने नेपालको मौलिक वाम राजनीतिक शक्ति हो । २०४९ सालमा नेता मदन भण्डारीको नेतृत्वमा एमाले गठन भएपछि यो दल भूमिगत आन्दोलनबाट खुलेर संसदीय राजनीतिमा प्रवेश गर्‍यो।

नेपालको वाम राजनीतिमा एमाले सधैं संगठित, अनुशासित र नेतृत्व केन्द्रित राजनीतिक दलका रूपमा परिचित रहँदै आएको छ। २०५२ सालदेखि २०७२ सम्म पार्टी माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीको त्रिकोणात्मक नेतृत्वमा अगाडि बढ्यो । तर २०७२ पछि केपी शर्मा ओली निर्विवाद केन्द्रीय नेतृत्वका रूपमा स्थापित भए। २०७८ सालमा नेकपा विघटनपछि त एमाले अझै ओली केन्द्रित एकल नेतृत्वतर्फ रूपान्तरित हुँदै गएको देखिन्छ।

भदौ २३–२४ पछिको जेन–जी आन्दोलनले राष्ट्रिय राजनीतिक परिदृश्य नै बदलिएको छ। सत्ताबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमनसँगै पुराना दलप्रति जनविश्वास कमजोर भएको, गठबन्धन संस्कृतिको स्थायित्व खस्किएको, वैकल्पिक शक्ति तथा स्वतन्त्र उम्मेदवारहरूको उदय देखिएको र सरकारी संयन्त्रको प्रभावकारिता तथा संस्थागत स्थायित्व कमजोर हुँदै गएको अनुभूति व्यापक छ। दल–पार्टीप्रति जनविश्वास घट्दै गएको, युवापुस्तामा राजनीतिक असन्तोष बढ्दै गएको पृष्ठभूमिमा एमाले आफ्नो नियमित महाधिवेशनको महासङ्घारमा प्रवेश गरेको छ ।

महाधिवेशनको मुख्य चासो भनेकै केन्द्रीय नेतृत्वको प्रतिस्पर्धामा को विजयी हुन्छ ? भन्ने हो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विद्यमान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको चुनौती व्यापक चर्चा र चासोको विषय बनेको छ। यसलाई देश–विदेशका शक्तिहरूले समेत ध्यानपूर्वक नियालीरहेका छन्। यही संदर्भमा धेरैमा प्रश्न उठेको छ, ‘के ओली र पोखरेलबीचको प्रतिस्पर्धा ‘कछुवा र खरायो’को दौडजस्तै देखिन सक्छ ?’ यस प्रश्नको उत्तर तीन कोणबाट हेर्न सकिन्छः

१) आम कार्यकर्ताको मनोवृत्ति
२) ओली र पोखरेलको राजनीतिक व्यक्तित्व
३) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित बाह्य प्रभाव

एमालेका एक समूह कार्यकर्ता केपी ओलीलाई आफ्नो आदर्श नेता ठान्छन्। उनीहरूलाई विश्वास छ, ओली पर्खर, स्पष्ट वक्ता, कडा निर्णयकर्ता, संगठन चलाउन सक्षम र राष्ट्रिय चुनाव जिताउन सक्ने ‘टेस्टेड’ नेतृत्व हुन्। त्यसैले आगामी अध्यक्षका ‘निरविकल्प’ उम्मेदवार उनी नै हुन् भन्ने ठूलो पङ्त्तीको बुझाई छ ।

अर्कोतर्फ, ओलीको कार्यशैलीबाट आजित र पीडित ठान्ने कार्यकर्ता समूह पनि छ। जेन–जी आन्दोलनपछि पुरानो नेतृत्व ‘आउटडेटेड’ भइसकेको, वैकल्पिक संरचना निर्माण र पुस्ता–हस्तान्तरण आवश्यक भइसकेको उनीहरूको तर्क छ। आवाज बलियो भए पनि ओलीको नियन्त्रण र प्रभावका कारण यो समूहलाई खुला रूपमा उभिन कठिन भइरहेको छ। यही आवाजलाई संस्थागत रूपमा अघि सारेका छन् ईश्वर पोखरेलले ।

पोखरेल पुराना, सम्पन्न, सम्यक सोच भएका वाम अधिनायकहरूको पुस्ता हुन्, जो बदलिँदो परिस्थितिमा पार्टीलाई नयाँ दिशानिर्देश दिन सक्षम छन् भन्ने मत राखिन्छ । एमाले कार्यकर्ताको मनोविज्ञान सामान्यतया ‘winning horse psychology अर्थात्, जसले जित्छ, उसैले पार्टी चलाउन सक्छ’ मा आधारित देखिन्छ। यही मान्यतामा ओली अझै बलियो देखिन्छन्।

छवि, दीर्घ अनुभव, शान्त–सम्यक नेतृत्व शैली, संगठनात्मक क्षमता, वैकल्पिक नेतृत्वको आवश्यकता, आन्तरिक असन्तुष्टहरूको सम्भावित एकीकरणजस्ता कारणले पोखरेलको पक्ष बलियो हुने तर्क भए पनि करिश्मा, लोकप्रियता र जन–समर्थनका दृष्टिले उनी ओलीजति सबल देखिँदैनन्। युवापुस्तामा उनको प्रभाव कम छ, स्थानीय र राष्ट्रिय चुनावी परिणाम सुनिश्चित गर्ने क्षमताबारे स्पष्टता छैन।

ओलीको लामो नेतृत्वका कारण ‘थकान’, उमेर, स्वास्थ्य, उत्तराधिकारी खोज्ने समय आएको तर्क रहे पनि कार्यकर्ताको मनोवैज्ञानिक झुकाव अझै ओलीतर्फ नै बलियो छ। संगठनमा उनको पकड गहिरो छ, क्याडर–मोटिभेसन उच्च छ र उनी ‘tested leadership’ का रूपमा स्थापित छन्।

पूर्वराष्ट्रपति र मदन भण्डारीको राजनीतिक–भावनात्मक परम्पराकी वाहक विद्यादेवी भण्डारी अझै एमालेको भावनात्मक केन्द्रमा प्रभावशाली छिन् विशेषतः महिला समूह, पुराना क्याडर र ओली–भण्डारी नेटवर्कमा। उनी वैकल्पिक नेतृत्वको वकालत गर्दै आएको देखिन्छ र प्रतीकात्मक रूपमा ईश्वर पोखरेलसँग निकट मानिन्छिन्। पोखरेल ‘भण्डारी–पक्ष’ का छायाँ उम्मेदवार हुन् भन्ने पनि भनिन्छ। तर भण्डारीको समर्थन मात्रले एमालेको शक्ति संरचनामा निर्णायक परिवर्तन ल्याउने वर्तमान अवस्थामा सम्भावना कम देखिन्छ।

अन्त्यमा, ‘खरायो’ जस्तै करिश्मा, गति, प्रभाव र संगठनात्मक शक्ति भएका ओली न थाकिएका देखिन्छन्, न सुस्ताएका। उनी आफ्नो ‘कछुवा’गतिका प्रतिद्वन्द्वी पोखरेललाई धेरै अगाडि बढ्न दिने सम्भावना कम छ। सैद्धान्तिक रूपमा ‘धीरे–धीरे जित्ने’ रणनीति पोखरेलका लागि सम्भव देखिए पनि व्यवहारमा एमालेको वर्तमान राजनीतिक–संगठनात्मक संरचनामा ओली नै अझै भारी देखिन्छन्।