केपी ओलीले बेहुलीलाई दाइजोका रुपमा दिए महाधिवेशन प्रतिनिधि उपहार

सोमबार, २२ मंसिर २०८२

काठमाडौँ – केपी ओलीले बेहुलीलाई दाइजोका रुपमा महाधिवेशन प्रतिनिधि उपहार दिएका छन् । ओखलढुङ्गाको लिखु गाउँपालिकाककी उपाध्यक्ष अस्मिता थापालाई ओलीले महाधिवेशन प्रतिनिधि उपहार दिएका हुन् ।

बिहेको निम्तो दिने केही दिनअघि गुण्डु पुगेकी थापाले महाधिवेशन प्रतिनिधिमा आफू पराजित भएको भन्दै गुनासो गरेकी थिइन् । ओलीले थापालाई ‘म छु नि’ भन्दै थापाकै अगाडि संगठन विभाग प्रमुख काशिनाथ अधिकारीलाई फोन गरेर अर्को मतदान गराउन निर्देशन दिएका थिए । उक्त निर्देशनपछि ईश्वर प्रोखरेल पक्षले उनीसहित चार प्रतिनिधि दिन सहमति जनाएको थियो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको गृह जिल्ला समेत रहेको ओखलढुंगामा १२ जना महाधिवेशन प्रतिनिधिको लागि ४१ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्य सबै पोखरेल पक्षधरका नेताहरु निर्वाचित भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरुले विवाद सिर्जना गरेकोमा हिजो अबेर सहमति जुटेको हो ।

बताइएअनुसार ओलीलाई ‘बा’ भन्दै आएकी अखिलकी पूर्व सचिवालय सदस्य तथा लिखु गाउँपालिकाको उपाध्यक्ष अस्मिता थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन नसकेपछि गुण्डु पुगेर गुनासो गरेकी थिइन् । आफ्नो बिहेको निम्तो दिने बाहनामा गुण्डु पुगेकी उनले ओलीसँग कसेको अड्डीबारे मंसिर १८ गते जनआस्थाको अनलाइन संस्करणमा ‘चेलीको बिहेसङ्गै दोहोर्‍याएर चुनाव’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । जसमा ओलीले थापालाई ‘म छु नि’ भन्दै महाधिवेशन प्रतिनिधि बनाउने प्रतिबद्धता जनाएकोबारे उल्लेख छ ।

सोही दिन ओलीले थापाकै अगाडि संगठन विभाग प्रमुख काशिनाथ अधिकारीलाई फोन गरेर अर्को मतदान गराउन भनेकोमा पोखरेल पक्षधरका नेताहरुले चार प्रतिनिधि दिन सहमति जनाएपछि विवाद साम्य भएको हो ।

यससँगै ओली निकट मानिने उपाध्यक्ष थापा, मोहनकुमार श्रेष्ठ, हर्कबोल राई र सकुन्तला राजभण्डारी प्रतिनिधि चयन भएका छन् ।