बैंकमा खाता रहेकाहरु सबैलाई सबै बैकले एकैसाथ दिए झट्का

बिहिबार, १ माघ २०८२

काठमाडौं—११ बाणिज्य बैंकले खातावाला ग्राहकलाई झट्का दिएका छन् ।

बैंकमा रकम राखेर व्याजका भरमा घर व्यवहार चलाउँदै आएका ग्राहकलाई चक्मा दिने गरी बैंकहरुले माघ महिनाका लागि मुद्दतीतर्फको ब्याजदर घटाएका छन् ।

माछापुच्छ्रे बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सिटिजन्स् बैंक, कृषि विकास बैंकले माघ महिनाका लागि मुद्दतीतर्फको ब्याजदर घटाएका हुन् ।

वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती ब्याजदर पुस महिनामा ४.८६ प्रतिशत रहेकोमा माघ महिनाका लागि घटेर ४.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागततर्फको औसत ब्याजदर पनि पुसको ३.४५ प्रतिशतबाट घटेर माघमा ३.३८ प्रतिशत कायम भएको छ । समग्रमा, व्यक्तिगततर्फ औसत ०.१५ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशतले ब्याजदर घटेको छ ।

तथ्यांकअनुसार अधिकांश बैंकहरूले मुद्दतीतर्फको ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् । व्यक्तिगततर्फ हिमालयन बैंक र माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् । यस्तै, सिद्धार्थ बैंकले ०.४५ प्रतिशत, एभरेष्ट बैंकले ०.३५ प्रतिशत र लक्ष्मी सनराइज तथा सिटिजन्स बैंकले ०.२५ प्रतिशतले ब्याजदर कटौती गरेका छन् ।

ब्याजदर घट्दो प्रवृत्तिकाबीच प्राइम बैंकले भने व्यक्तिगततर्फको ब्याजदर ०.१५ प्रतिशतले बढाएर ४.४० प्रतिशत पु¥याएको छ । तर, माघ महिनाका लागि व्याक्तिगत तर्फ नेपाल बैंक ५.१०, ग्लोबल आइएमई बैंक ५.५०, नबिल बैंक ४.५५, राष्ट्रिय वाणिज्य बैंक ५, एनआइएमबि ५ र एनआइसी एशिया बैंकले ५ प्रतिशत सहित ब्याजदर स्थिर राखेका छन् ।

संस्थागत मुद्दतीतर्फको ब्याजदर

संस्थागत निक्षेपतर्फ एभरेष्ट बैंकले सबैभन्दा धेरै ०.५० प्रतिशतले ब्याजदर घटाएर ३.५० प्रतिशत कायम गरेको छ । लक्ष्मी सनराइज, हिमालयन र सिद्धार्थ बैंकले पनि संस्थागत ब्याजदरमा ०.२५ प्रतिशतले कटौती गरेका छन् । अन्य अधिकांश बैंकहरूले भने संस्थागत ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । माघ महिनामा ग्लोबल आइएमई बैंकको व्यक्तिगत ब्याजदर सबैभन्दा उच्च ५.५० प्रतिशत देखिएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा न्यून ४.३६ प्रतिशत रहेको छ ।