लोकप्रिय बन्दै बैतडीको कपडा बैंक, ‘हुनेले दिने नहुनेले लिने’ अभियान सफल

शनिबार, २० असार २०८३

काठमाडौं – बैतडीको कपडा बैंक दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वार्ड न. ४ शाहिलेकमा तीन वर्षअघि स्थापना भएको कपडा बैंक निमुखा वर्गका लागि लोकप्रिय बनेको हो ।

‘हुनेले दिने, नहुनेले लगेर जाने’ भन्ने मुल नारासहित सुरु भएको अभियानमा ७ हजार बढीले न्यायो लुगा लगाउन पाएका छन् । कपडा बैंकले ७ हजार भन्दा बढी मानिसहरुलाई न्यानो लुगा, विद्यार्थीहरुलाई झोला, शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको कपडा बैंकका संचालक महेशदत्त भट्टले बताएका छन् ।

‘अझै पनि समाजमा अभाव छ । रोग छ, भोक छ । मानिसहरूलाई आङ ढाक्न ठूलो समस्या छ । यहि समस्यालाई मध्यनजर गरि हामी युवा साथीहरू मिलेर अभियान सन्चाल्न गरेका छौ ।’, भट्टले भनेका छन्, ‘बैंकमार्फत २ सयभन्दा धेरै सहयोगी मनहरुले कपडा सहयोग गर्नु भएको छ ।’

अभावमा रहेका मानिसहरूलाई राहत होस्, समाजमा सहयोग र सद्भावना फैलियोस भन्ने उद्येश्यले कपडा बैंक सुरु गरेको उनको भनाई छ । भट्टले समाज परोपकारी अभियानमा लागोस, सहयोगी बनोस् भन्ने सन्देश प्रवाह गर्न अभियान सुरु गरेको दावि गरेका छन् । सहयोगी मनहरुले आफ्नो जन्मोत्सव, वैवाहिक वर्षगाँठको अवसर पारेर धेरैले सहयोग गरिरहेका छन् ।

कपडा बैंकका संचालक भट्टका अनुसार सामाजिक उत्तरदायित्व अनतर्गत बैंक, वित्तिय संस्था, नेपाल दुरसञ्चार लगायतका अन्य सरकारी कार्यालयहरुबाट पनि झोला, ब्ल्यान्केटहरु लगायत सहयोग प्राप्त भएको छ ।