नबिल बैंकको ‘ग्रिन विक २०२६’ सम्पन्न , दिगो विकासमा जोड
काठमाडौं —नबिल बैंक लिमिटेडले काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा दुई सयवटा एभोकाडोका बिरुवा रोपेर साताव्यापी ‘नबिल ग्रिन विक, २०२६’ समापन गरेको छ ।
दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा असार १५ देखि सुरु भएको यस अभियानअन्तर्गत लुम्बिनी वर्ल्ड पिस फोरम नेपाल र स्थानीय वडा कार्यालयको सहकार्यमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा टोखा–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीसहित स्थानीयवासीको उपस्थिति थियो ।
सिइओ ज्ञवालीले बैंक नाफामुखी संस्था मात्र नभई वातावरण, समाज तथा सुशासन (ईएसजी) को सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउँदै रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
विगत पाँच वर्षमा दिगो बैंकिङलाई रणनीतिक प्राथमिकतामा राखेको नबिल बैंकले वातावरणीय र सामाजिक क्षेत्रमा ठूलो लगानी गरेको छ । बैंकले हालसम्म नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड, कृषिमा ५४ अर्ब २८ करोड, महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड, साना तथा मझौला उद्यम ९एमएसएमई० मा ४५ अर्ब ७७ करोड र स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ लगानी गरिसकेको छ ।
यस लगानीबाट १ लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको र त्यसमा ३१ प्रतिशत महिला सहभागिता रहेको बैंकले जनाएको छ । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत २५ करोड ६० लाख रुपैयाँ खर्च गरिनुका साथै ‘नबिल एसईई’ मार्फत १ हजार ५७७ उद्यमीलाई तालिम प्रदान गरिएको छ ।
वातावरणीय योगदानतर्फ बैंकले नवीकरणीय ऊर्जा क्षेत्रमा गरेको लगानीका कारण चार वर्षमा करिब ३९ हजार ४५० टन कार्बन उत्सर्जन न्यूनीकरण भएको छ ।
त्यस्तै, डिजिटाइजेसन र स्वचालित प्रणाली अपनाउँदा वार्षिक २ लाख ६२ हजार लिटर पानी र २० मेट्रिक टन कागज बचत भएको छ । लैंगिक समानतालाई प्रश्रय दिँदै बैंकले आफ्नो कुल जनशक्तिमा ३९.१५ प्रतिशत महिला सहभागिता पुर्याएको छ भने ५० जना महिलाले शाखा र रणनीतिक इकाइको नेतृत्व सम्हालेका छन् ।
चार दशकदेखि सेवा दिँदै आएको बैंकले हाल देशैभरका २६६ शाखा र ३१८ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई आधुनिक तथा डिजिटल ‘एनबैंक’ सेवा प्रदान गर्दै आएको छ ।