नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय

सोमबार, १ भाद्र २०८३

काठमाडौं— नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा र नेकपा (एमाले) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नयाँ कार्यविभाजनअनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री रहेका छन् ।

नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । नेकपाका गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन, जीवन आचार्यले भौतिक पूर्वाधार विकास, गीता तिम्सिनाले सामाजिक विकास तथा खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपाकै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

सरकार विस्तारसँगै एमालेबाट यसअघि जिम्मेवारीमा रहेका केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, सामाजिक विकास मन्त्री रहेका रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहेका उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत राखिएको छ ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराएका छन् । राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री कार्कीले नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेशमा एमाले र नेकपा सत्ता साझेदार दल बनेका छन् । नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद्को जिम्मेवारी टुंगिएसँगै प्रदेश सरकारको संरचना पूर्ण भएको छ ।