सुनसरी घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग तिब्र

मंगलबार, १२ साउन २०८३

काठमाडौँ – सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् ।

मंगलबार सिरहाको गोलबजार नगरपालिका-८ स्थित पुरानो चोक, चोहर्वामा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । प्रदर्शनकारीहरूले घटनामा संलग्नमाथि कानुनी कारबाही, प्रहरी दमन अन्त्य तथा न्यायको माग गरेका छन् ।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ कसहा चोकमा समेत विरोध प्रदर्शन भएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो । आन्दोलनकारीसँग छलफलपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

सुनसरीसहित विभिन्न जिल्लामा अहिले पनि प्रदर्शन जारी छ ।