सार्वजनिक यातायातलाई यात्रुमैत्री र सुरक्षित बनाउन व्यवसायी–ट्राफिक सहकार्य आवश्यक : अध्यक्ष सिटौला

सोमबार, १८ साउन २०८३

काठमाडौं — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सार्वजनिक यातायातलाई यात्रुमैत्री, व्यवसायीमैत्री र कामदारमैत्री बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

महासंघको सम्मान, पदस्थापना तथा प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सवारी दुर्घटनाका विषयमा सार्वजनिक यातायातलाई मात्रै दोष दिने प्रवृत्ति उचित नभएको बताए । उनले दुईपांग्रे तथा अन्य निजी सवारी साधनबाट समेत धेरै दुर्घटना हुने गरेको उल्लेख गर्दै सबै सवारी साधनलाई एउटै दृष्टिले हेर्न नहुने धारणा राखे ।

‘दुई पांग्रे र अन्य निजी सवारीबाट पनि धेरै दुर्घटना हुने गरेका छन् । तर सबैलाई एउटै भाँडोमा राखेर सवारी दुर्घटना भनिएको छ । दुर्घटनाको वास्तविक कारण पहिचान गर्न आवश्यक छ,’ उनले भने ।

उनले सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन व्यवसायी र चालक–सहचालकले अनुशासन पालना गर्नुपर्नेमा जोड दिए । उनका अनुसार अहिले अधिकांश सवारी साधन लेन अनुशासनमा सञ्चालन भइरहेका छन् ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्यको आवश्यकता रहेको बताए ।

उनले ट्राफिक प्रहरीको मुख्य उद्देश्य सडक दुर्घटनाबाट नागरिकको अकाल मृत्यु रोक्नु र घाइते हुने अवस्था न्यूनीकरण गर्नु रहेको बताए । ‘सडकमा कुनै पनि नागरिकको अनाहकमा ज्यान नजाओस् र कोही घाइते नहोस् भन्ने हाम्रो पहिलो उद्देश्य हो,’ उनले भने ।

एसएसपी काफ्लेका अनुसार नेपालभर हाल करिब ६७ लाख सवारी साधन दर्ता भएका छन् । तीमध्ये करिब ६३ लाख सवारी सञ्चालनमा रहेको तथ्यांक रहेको उनले बताए । काठमाडौं उपत्यकामा मात्रै दैनिक २० लाखभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार उपत्यकामा दैनिक ५० भन्दा बढी सवारी दुर्घटना हुने गरेका छन् भने देशभर दैनिक औसत आठ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइरहेका छन् । त्यसमध्ये करिब पाँच जनाको मृत्यु काठमाडौं उपत्यकामा हुने गरेको उनले बताए । साथै, दैनिक ५० जनाभन्दा बढी गम्भीर प्रकृतिका दुर्घटनाबाट प्रभावित हुने गरेको उनले उल्लेख गरे ।

‘काठमाडौं उपत्यकामा दैनिक पाँच जना र देशभर आठ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको अवस्था छ । हाम्रो लक्ष्य यसलाई शून्यमा झार्नु हो,’ काफ्लेले भने ।