काँग्रेसको एकताका लागि सर्वोत्तम उपाय

आइतबार, ४ असोज २०८३

ओम आचार्य

नेपाली काँग्रेसमा पछिल्लो समय तीव्र गतिमा राजनीतिक दृश्य परिवर्तन भइरहेको छ। कल्पना र अनुमान नै गर्न नसकिने घटनाहरू घटिरहेका छन्। लामो समयदेखि देउवा समूहमा रहेर उनको कवचका रूपमा देखिएका शीर्ष नेताहरूले देउवाको साथ छाड्दै संस्थापन पक्षमा जानु काँग्रेसभित्र आश्चर्यको विषय बनेको छ। तर, स्वयं देउवा भने यसबाट आश्चर्यचकित नदेखिनुलाई रहस्यमय रूपमा हेरिएको छ। यससँगै इतर समूहको रणनीतिलाई पनि सकारात्मक रूपमा लिन थालिएको छ।

अहिले संस्थापन समूहले इतर पक्ष र मध्यमार्गी नेता डा. शेखर कोइरालाका सबै माग पूरा गरिसकेको बताएको छ। उसले अब हुने पन्ध्रौँ महाधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाबाट गराउने निर्णय भएको उल्लेख गर्दै त्यसका लागि देउवालाई अनुरोध गर्ने जनाएको छ। यो इतर पक्षले राखेका मागमध्ये एक थियो।

यसैबीच, डा। शेखर कोइरालाले ‘एकताको महाधिवेशन’मा जोड दिँदै संस्थापन र इतर समूहले छुट्टाछुट्टै आयोजना गर्न लागेका दुवै महाधिवेशन स्थगित गर्न आग्रह गरेका छन्। पूर्वसभापति देउवालाई पन्ध्रौँ महाधिवेशन उद्घाटन गर्न अनुरोध गर्ने विषयले डा। शेखरको एकताको महाधिवेशनसम्बन्धी प्रस्ताव कार्यान्वयन हुन सक्ने परिस्थिति सिर्जना गरेको देखिन्छ।

तर, पन्ध्रौँ महाधिवेशन उद्घाटन गर्न देउवालाई नैतिक संकट पर्न सक्छ। यदि महाधिवेशन देउवाबाट उद्घाटन गराइने हो भने सबैभन्दा पहिले सर्वोच्च अदालतमा रहेको पुनरावलोकनको मुद्दा फिर्ता लिनुपर्ने देखिन्छ। त्यसो गर्दा उनले विशेष महाधिवेशनबाट आएको काँग्रेसको कार्यसमिति स्वीकार गर्दै त्यसको अपनत्व वा स्वामित्व लिएको अर्थ लाग्नेछ। यस्तो अवस्थामा पुनरावलोकनको मुद्दा स्वतः कमजोर र महत्त्वहीन बन्नेछ। देउवामाथि देखिएको नैतिक संकट पनि उनकै तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको यही पुनरावलोकनको मुद्दासँग जोडिएको छ।

डा। शेखर कोइरालाले प्रस्ताव गरेको ‘एकताको महाधिवेशन’को व्यावहारिक रूप भनेको संस्थापन पक्षले आयोजना गर्न लागेको पन्ध्रौँ महाधिवेशनको मिति परिमार्जन गरी त्यसको उद्घाटन देउवाबाट गराउनु हुन सक्छ। त्यसका लागि संस्थापन पक्षले भनेजस्तै सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दा फिर्ता लिनुपर्ने हुन्छ।

विशेष महाधिवेशनपछि डा। शेखर कोइरालाको भूमिकालाई लिएर सुरुमा विरोध भएको थियो। उनलाई ढुलमुले चरित्र देखाएको आरोप लगाउँदै आलोचनासमेत गरिएको थियो। तर, उनले काँग्रेसको संस्थापन र इतर समूहबीचको विवादमा तटस्थ भूमिका निर्वाह गर्दै आएका छन्। पछिल्लो समय उनले एकताको महाधिवेशन नभए कुनै पनि पक्षको महाधिवेशनमा सहभागी नहुने स्पष्ट पार्दै दुवै समूहले आयोजना गर्न लागेका छुट्टाछुट्टै महाधिवेशन स्थगित गर्न र साझा महाधिवेशन गर्न जोड दिएका थिए। अहिले काँग्रेसभित्र विकसित भइरहेको परिस्थितिले डा। शेखरको प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखाएको छ।

अतः इतर समूहले पुनरावलोकनको मुद्दा फिर्ता लिनु र देउवाले संस्थापन पक्षबाट आयोजना गरिने पन्ध्रौँ महाधिवेशनको उद्घाटन गर्नु नै अहिले काँग्रेसको एकताका लागि सर्वोत्तम उपाय हुन सक्छ।