भिक्टोरिया राज्य निर्वाचनमा लिबरलबाट नेपाली मूलका शंकर धरेल उम्मेदवार

बिहिबार, २२ असोज २०८३

भिक्टोरियाको आगामी राज्य निर्वाचनमा लिबरल पार्टीले नेपाली मूलका शंकर धरेललाई उत्तरी महानगरीय क्षेत्र (Northern Metropolitan Region) बाट उम्मेदवारका रूपमा अनुमोदन गरेको छ। भिक्टोरियाको राज्य निर्वाचनमा लिबरल पार्टीबाट नेपाली मूलका उम्मेदवारले टिकट पाएको यो पहिलोपटक भएको बताइएको छ।

उम्मेदवारीपछि धरेलले समुदायसँग सहकार्य र संवादलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्। उनले भने, “उत्तरी महानगरीय क्षेत्रका लागि लिबरल उम्मेदवारका रूपमा अनुमोदित भएको खबर साझा गर्न पाउँदा म खुसी छु। म तपाईंहरूको समर्थन माग्छु।”

“हाम्रा समुदायका कुरा सुन्न, तपाईंहरूको विश्वास जित्न र तपाईंहरूका लागि महत्त्वपूर्ण मुद्दामा आवाज उठाउन म उत्सुक छु,” उनले भने। चुनावी अभियान सुरु हुँदै गर्दा आफूलाई प्रोत्साहन, सहभागिता र समर्थन गर्न आग्रह गर्दै धरेलले समुदायका विचार सुन्न, अभियानमा सहभागी हुन वा महत्त्वपूर्ण विषयमा छलफल गर्न आफूलाई सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।

उनले अभियानका गतिविधि र सहभागी हुने अवसरबारे जानकारीका लागि आफ्नो आधिकारिक फेसबुक पेज पछ्याउन आग्रह गरेका छन्। “तपाईंहरूको समर्थनका लागि धन्यवाद,” धरेलले भने।

यसैबीच, लिबरल र नेसनल्सले उत्कृष्टता अभिवृद्धि शिक्षा योजना सार्वजनिक गरेका छन्। योजनाले विद्यार्थीको बसोबासको पोस्टकोडका कारण शैक्षिक अवसर सीमित नहोस् भन्ने लक्ष्य राखेको पार्टीको भनाइ छ।

योजनाअन्तर्गत छ वटा विद्यमान विद्यालयसम्बन्धी स्थान र पहुँचको निर्णय स्थानीय समुदायसँगको परामर्श तथा आवश्यक तथ्यांकका आधारमा गरिने जनाइएको छ। मेल्टन, क्यारोलाइन स्प्रिङ्स, सिडेनहम र आसपासका क्षेत्रस क्रेगिबर्न, रोक्सबर्ग पार्क र वरपरका क्षेत्रस तथा ल्याङ्वारिन, क्रानबर्न साउथ र आसपासका क्षेत्रमा तीन नयाँ विद्यालय निर्माण गर्ने प्रस्ताव छ। ती विद्यालय सन् २०३० अघि सञ्चालन गर्ने लक्ष्यसहित जग्गा पहिचान र अधिग्रहण प्रक्रिया तत्काल सुरु गरिने पार्टीले जनाएको छ।

नयाँ विद्यालयमा भर्ना शैक्षिक उपलब्धि, क्षमता र सामाजिक–आर्थिक अवस्थालाई समान रूपमा ध्यान दिएर गरिने प्रस्ताव छ। भर्ना परिवारको आर्थिक हैसियत वा बसोबासको पोस्टकोडका आधारमा नहुने पार्टीको दाबी छ।