देउवा समूहको अबको सभापति को हो ?

बुधबार, ११ कार्तिक २०८३

ओम आचार्य

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि नेपाल फर्कँदा, “सर्वोच्चमा चलिरहेको मुद्दाकै सन्दर्भमा हाम्रै पक्षमा फैसला हुन्छ” भन्ने भनाइ उनका निकट रहेका केन्द्रीय स्तरका नेतादेखि जिल्ला स्तरसम्मका नेताहरूले पनि भन्दै आएका छन्। यसो भनिरहँदा, अहिले देशभरि वडा तहदेखि केन्द्रसम्म अधिवेशन गरिरहँदा देउवा आफैँ आफ्नो भनाइमा आश्वस्त र विश्वस्त हुन नसकेको हो कि भन्ने संशय पैदा हुन आउँछ।

सर्वोच्चमा यति विघ्न विश्वास राखेका इतर समूहले अहिले अधिवेशन गर्न के जरुरी थियो त ? फैसला हुनुअघि र संस्थापनको अधिवेशनको बीचमा इतर समूहले आफ्नो सक्रियता र चलायमानता कायम राख्न, नेता र कार्यकर्तालाई समूहमा आबद्ध गर्न र संस्थापनलाई मानसिक दबाब दिनकै लागि यसो गरिएको हो तरु देउवा समूहका कांग्रेस कार्यकर्तालाई आफूतिर आकर्षित गर्ने रणनीतिकै लागि “मुद्दा हाम्रै पक्षमा हुन्छ” भन्दै गरेको देखिन्छ। अर्कोतिर, संस्थापनले पनि १५औँ महाधिवेशन गर्ने तिथिमिति तय गरिसकेपछि इतर समूहले पनि अधिवेशन गर्ने उद्घोष गर्नु कार्यकर्तालाई आफूतिर टिकाइराख्ने यी दुई रणनीतिअन्तर्गत भएको भन्न सकिन्छ।

अदालतको फैसला के हुन्छ ?

संस्थापन इतरले पुनरावलोकनको मुद्दा हालेपछि मुद्दाको फैसला के हुन्छ ? अनुमान र सम्भावनाबारे अहिले सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ। राजनीतिमा अनुमान र सम्भावना जे पनि गर्न सकिन्छ। तर अदालतको निर्णय र फैसलामा अनुमान र सम्भावनाभन्दा पनि मौजुदा दलको विधान, नेपालको नियमकानुन र नजिर पनि हेर्ने गरिन्छ। संस्थापन वा इतर समूह, वा दुवैको निर्णयभन्दा फरक—चुनाव चिह्न र चार तारा स्थगित या खारेज नै पनि हुन सक्ने सम्भावना छ। भारतमा यस्तै प्रकृतिको दुई दलबीचको झगडासम्बन्धी मुद्दामा भएको फैसला र निर्णयले यहाँ पनि प्रभाव पार्ला भन्न सकिँदैन।

शेरबहादुर देउवा समूहले अहिले वडा र केन्द्रीय अधिवेशन गरिरहँदा भारतमा भएको फैसला र निर्णयलाई मध्यनजर गरेर नै गरेको हुनुपर्छ। कथंकदाचित त्यस्तो भएमा, निर्णय र फैसलापश्चात् पुनः संगठन गर्नु र गराउनु निकै कठिन र समय लाग्ने काम हुनेछ। अहिले रुख र चार तारा प्रयोग गर्ने सुविधा पाएकोले यो समूहलाई पार्टी चलायमान राख्न र नेता तथा कार्यकर्ता जुटाइराख्न सहज हुने भएकाले इतर समूह अधिवेशनमा होमिएर आफ्नो दल चुस्त र दुरुस्त राख्न खोजेको देखिन्छ।

इतर समूहबाट सभापति को ?

कांग्रेसमा दुवै समूहमा यस्तो परिस्थिति निर्माण भए लाभ र हानि हेर्दा राजनीतिक रूपमा लाभ देउवा समूहलाई हुने देखिन्छ। किनभने, यस्तो परिस्थितिमा गगन समूहप्रति अहिलेको जस्तो आकर्षण रहने छैन। गगनप्रति विकर्षण सुरु हुनेछ र त्यो समूहबाट धेरै नेताहरू देउवा समूहमा आउने सम्भावना पनि छ। सम्भावना यस कारणले पनि छ कि अहिले यस समूहमा वरिष्ठ नेताहरू धेरै छन्, अनुभव छ, राजनीतिक कुशलता छ र लामो राजनीतिक अनुभव पनि छ। उनीहरू जनसम्पर्कमा समेत छन्। त्यति मात्र होइन, कोइराला परिवारको विरासत, गणेशमान सिंहको विरासत र महेन्द्रनारायणको विरासत बोकेका नेताहरू अहिलेसम्म यही समूहमा आबद्ध छन्।

पूर्णबहादुर खड्का पनि त्यस्तो अवस्था आए देउवा समूहमा नै आबद्ध हुनेछन्। डा. शेखर कोइराला दुवै समूहमा नलागी एकताको अधिवेशन भनिरहेका छन् र पार्टी फुट्न दिन्न, फुट्दैन भन्दै छन्। यस्तो परिस्थिति आएमा उनी देउवा समूहमा आबद्ध हुने धेरै सम्भावना छ।

डा. शेखरको देश दौडाहा

अहिले वर्तमान कांग्रेसको स्थिति र परिस्थिति हेर्दा डा. शेखरको देश दौडाहाको औचित्य छ कि छैन ? भर्खरै विशेष महाधिवेशन हुँदै १५औँ अधिवेशन गरी सभापति बनिसकेका गगन थापाको नेतृत्वमा केन्द्रीय समिति समेत बनिसकेको अवस्थामा डा. शेखर कोइरालाको यो देश दौडाहाको अभियान के होरु अझै पनि कांग्रेस एक बनाउने अभियान हो तरु या अन्य कुनै राजनीतिक उद्देश्य अन्तर्निहित छरु तर कांग्रेस एक बनाउने अब सम्भावना देखिँदैन।

देउवा समूहले गर्ने भनेको अधिवेशनलाई लक्ष्य गरेर नै डा. शेखरको देश दौडाहा भएको त होइन ? देउवा समूहबाट डा। शेखर कोइराला त्यतिखेर सभापतिको उम्मेदवार हुन सक्छन्, जब अदालतले दुवै दललाई एउटै हैसियतमा पुर्‍याउँछ। देउवाले डा. शेखरजतिको सक्षम र निष्कलंक व्यक्ति त्यो पदका लागि त्यो समूहभित्र भेट्दैनन्। अर्को कुरा, डा. शेखरमा कोइराला विरासत पनि छ र अहिले दुवै समूहबाट विवादित र दोषरहित पनि छन्। हुन त कोइराला विरासत बोकेकै बीपीपुत्र डा. शशांक पनि छन्, तर देउवा र त्यो समूहभित्रको रोजाइमा डा. शेखर पर्न सक्छन्। उनी देश दौडाहा र जनसम्पर्कमा रहिरहन सक्छन्।

१४औँ महाधिवेशनमा १,८५५ मत अर्थात् ४० प्रतिशतभन्दा केही बढी मत ल्याएर आफूलाई कांग्रेसमा स्थापित गरिसकेको कारणले पनि उनी अन्य राजनीतिक दलहरूसँग राजनीतिक सौहार्द राख्न र सहकार्य गर्न सिपालु मानिन्छन्। यही कारणले पनि देउवा समूहको रोजाइ डा। शेखर हुन सक्छन्।

– विराटनगर