पत्रकार बराल पक्राउ प्रति जनपत्रकार संगठन नेपालको आपत्ति
काठमाडौं– मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराललाई बिना कारण पक्राउ गरिएको घटनाप्रति जनपत्रकार संगठन नेपालले आपत्ति जनाएको छ । शुक्रबार साँझ जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादर विश्वकर्माले एक प्रेसविज्ञप्ति जारी गर्दै बराललाई विना कारण पक्राउ गरिएको घटना मानवअधिकार, प्रेस स्वतन्त्रता र समग्र पत्रकारिता आन्दोलनको भावनाबिरुद्ध रहेको भन्दै आपत्ति जनाएका हुन् । उनले पत्रकार माथिको धरपकडलाई राज्य आतंकको संज्ञा दिदै पत्रकार बराललाई तुरुन्त रिहा गर्न समेत माग गरेका छन् ।
विश्वकर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य एवम् मोटिभेट न्युज डटकमका प्रधानसम्पादक शोभराज बराललाई पक्राउ गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौको अनामनगरस्थित उहाँको कार्यालयबाट सादा पोसाकमा आएका प्रहरीले आज दिउँसो पक्राउ गरी लिएको घटना मानवअधिकार, प्रेस स्वतन्त्रता र समग्र पत्रकारिता आन्दोलनको भावनाबिरुद्ध रहेको हाम्रो ठहर छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रचलित संविधान र कानुनले समेत ग्यारेन्टी गरेको सन्दर्भमा यसरी गरिएको पक्राउले सरकारको गैरकानुनी रबैयालाई नै पुष्टि गर्दछ ।
यदि समाचार सामग्रीसग सम्बन्धित कुनै समस्या भए प्रेस काउन्सिलले नियमन गर्ने व्यवस्था हुँदाहुँदै बिना पुर्जी गरिएको पक्राउको बिरोध गर्दै हाम्रो संगठन पत्रकार बरालको अबलम्ब रिहाईको पहल गर्न नेपाल पत्रकार महासंघ, विभिन्न सरोकारवाला निकाय र सम्बद्ध सबैसँग अनुरोध गर्दछ ।
