कम्युनिस्ट पार्टीका महासचिव एयरपोर्टबाट पक्राउ

शुक्रबार, २४ साउन २०७६

काठमाडौं –भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई पक्राउ परेका छन् । शुक्रबार दिउँसो जम्मू–कश्मीरको श्रीनगर विमानस्थलबाट प्रहरीले येचुरीलाई पक्राउ गरेको हो ।

यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र ट्वीट गरेका थिए । उनले पत्रमा आफू र भाकपा नेता डी. राजा आफ्ना पार्टीका अस्वस्थ विधायक युसुफ तरिगामीलाई भेट्न इन्डिगो एअरलाइन्समार्फत श्रीनगर आइरहेको जानकारी गराएका थिए ।

येचुरीले भंग भएको जम्मू–कश्मीर विधानसभाका सदस्य तरिगामीको स्वास्थ्य अवस्था ठिक नभएकाले आफूहरु भेट्न आउन लागेको जानकारी गराएका थिए । भाकपा मार्क्सवादीले शुक्रबार दिउँसो ट्वीट गर्दै श्रीनगरमा ओर्लनेबित्तिकै येचुरीलाई हिरासतमा लिइएको बताएको छ । त्यस्तै उनलाई नियन्त्रणमा लिने काम गैरकानुनी भएको भाकपाले जनाएको छ ।