आत्मज्ञान कसरी प्राप्त गर्ने ?
काठमाडौं – वेदव्यासको आज्ञाले शुकदेव आत्मज्ञान पाउन विदेहराज जनकको दरबारमा पुगे । दरबारबाहिरको मण्डपमा खुब सजिसजाउ हात्ती, घोडा र स्त्री पुरुषहरु थिए ।
तर शुकदेव कुनै वास्तै नगरी भित्र पसे । भित्रको पहिलो मण्डपमा पालेहरुले टन्टलापुर घाममा उनलाई घण्टौं उभ्याए । तर शुकदेव खिन्न भएनन् । त्यसपछि पालेहरुले उनलाई भित्र पठाए । भित्र शीतल थियो तर शुकदेव आत्मचिन्तनमै लागिरहे ।
फेरि उनलाई अझ भित्र लगियो । त्यहाँ सुन्दरीहरुले आएर उनलाई अंकमाल गर्न लागे । ती सबैलाई सामान्य ठानेर शुकदेव आत्मचिन्तनमै लागिरहे । अन्त्यमा राजा जनकले उनी भएको ठाउँमा आएर भने,– ‘बाहिरका त्यस्ता कुरा छाडेर तिमी किन यहाँ आयौ ?’
शुकदेवले शान्त भावमा भने– ‘देखिने वस्तु आखाँका विषय हुन् सुखदुःख आदि कुरा चित्त र बुद्धिका विषय हुन् । सुरासुन्दरी भनेका मनका विषय हुन् तर मलाई आत्मज्ञान चाहिएको छ अर्काको विषय होइन । ’
शुकदेवका कुराले राजा जनक नतमस्तक भए । यसकारण सफलताका लागि लक्ष्यमा अडिग रहनुपर्छ, बाहिरी विषयको चिन्तनमा होइन ।