पत्रकार हमाललाई सर्वोच्चमा उपस्थित गर्न विपक्षीको नाममा आदेश
काठमाडौ – पत्रकार ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। हमालकी श्रीमती मोनिका गुरुङले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई पक्राउको कारण र बन्दीसहित अदालत पेश गर्न शुक्रवार आदेश दिएको हो।
हमालको गिरफ्तारी गैरकानूनी भएको भन्दै गत भदौ ८ गते नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्येक्षीकरण रिटमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो।
दोस्रोपटक गिरफ्तार गरेपछि जनपत्रकार संगठनकी सदस्य रहेकी हमालकी श्रीमती गुरूङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। हमाललाइ प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासँग नजिक भएको भन्दै भदौ ६ गते पोखराको सिसुवाबाट प्रहरीले पक्राउ गरेको थियो। पुनः पक्राउ गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौले पत्रकार हमाललाई बुधबार अभद्र व्यवहारको मुद्धा लगाएको छ । हमाललाई पुन पक्राउ गरी बुधबार नै काठमाडौ जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको छ ।
सर्वोच्च अदालतको मुल गेटबाट आदेशको अवेज्ञा गर्दै अमानवीय तरिकाले पक्राउ पुर्जी माग्दा माग्दै जबरजस्ती बल प्रयोग गरेर प्रहरी भ्यानमा कोचेको थियो । पत्रकार हमाललाई प्रहरीले जबरजस्ती पक्राउ गर्दा हात भरि कोतारिएको, निलडामहरु तथा उनले लगाएको चस्मा समेत फुटेको छ । पत्रकार हमाललाई आदेश विपरित पुनःपक्राउ गरेपछि नेपाल पत्रकार महासंघले सञ्चार तथा सुचना प्रविधि मन्त्रीलाई ध्यानाकर्षण गरेको छ ।
क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्षसमेत रहेका जैसीका अनुसार मन्त्रीसँगको डेलिकेशनमा मन्त्री वास्कोटाले खाफू यो विषयमा गृहमन्त्रीसँग छलफल गरेर पहल लिने बताए पनि अहिलेसम्म रिहा गरिएको छैन । हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघको ४ नं. प्रदेशले आन्दोलन थालेको छ । महासंघ केन्द्रसँगको समन्वयका आधारमा प्रदेश र जिल्लाले पहिलो चरणको आन्दोलन थालेको केन्द्रीय सदस्य जैसीले बताए । उनका अनुसार यदि हमाललाई अविलम्ब रिहा नगरे केन्द्रले कडा संघर्षका कार्यक्रम घोषणाा गर्न बाध्य हुनेछ ।
