कांग्रेसको जागरण अभियान आजदेखि, के छन् दोश्रो चरणको अभियानका विशेषता ?
काठमाडौं – नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजदेखि देशभर एकैसाथ सुरु गर्दै छ । कांग्रेसका संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिने अभियानको उदघाटनमा एउटा प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ वटा बिरुवा रोपिने छ ।
हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गर्दा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपिने छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि ३३० प्रतिनिधिहरु सम्बन्धित क्षेत्रमा खटिएका छन् । १५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिनेछ ।
जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तर्क्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेश लगायतका कार्यक्रम हुने छन् । साथै केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र सल्लाह सुझावहरु संकलन गर्ने कांग्रेसले जनाएको छ ।