विप्लवका कार्यकर्ता आक्रमक बन्दै : सत्तारुढ नेकपाका ३ जना नेतामाथि आक्रमण, प्रचण्ड ओलीलाई तनाव
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३ जना नेताहरुमाथि अज्ञात समुहले आक्रमण गरेको छ । जाजरकोटको पूर्वी क्षेत्र बारेकोट गाउँपालिकामा नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य, प्रदेश कमिटी सदस्य डम्मर बहादुर सिंह र अनेरास्ववियूका जिल्ला कमिटी सदस्य विशाल बस्नेत माथिर आक्रमण भएको हो ।
जिल्ला पार्टीले तय गरेको राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि जाँदै गर्दा बुधबार बिहान उनीहरुमाथि बारेकोट लैखमको रापानी भिरमा अज्ञात समुहरले आक्रमण गरेको हो । आक्रमणबाट नेता आचार्य र सिंहको खुट्टामा चोटपटक लागेको बताइएको छ । आक्रमण लगतै नेकपा नेताहरु भाग्न सफल भएका कारण थप क्षति हुनबाट जोगिएको र अहिले अबस्था सामान्य रहेको बताइएको छ ।
घाइते भएका नेता डम्बर सिंहले आफूहरुमाथि विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्ताहरुले निकै अप्ठेरो भिरमा आक्रमण गरेको बताएका छन् । सिंहका अनुसार लाठी बोकेर बसेका आक्रमणकारीले बारेकोटमा प्रवेश गर्न नदिने भन्दै भिरालो ठाउँमा आक्रमण गरेपछि भागाभाग भएको थिया । बारेकोटको लिम्सामा गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रमका लागि त्यसतर्फ जान लागेको नेताहरुलाई आक्रमण गर्नेले आफूहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको भन्दै लाठीले हानेको सिंहले बताए ।
आफ्नो पार्टीका नेता कार्यकर्तालाई सरकारले देशभर धरपकड तथा गिरफ्तार गरेकोले सत्तारुढ दलका नेताहरुलाई पनि आफ्नो पार्टीले गाउँ पस्न नदिने भन्दै आफूमाथि आक्रमण गरेको नेता निरज आचार्यले बताए । साथै उनीहरुले सो क्रममा आफ्नो पार्टीले सरकारी नेकपालाई गाउँमा कुनै गतिविधि गर्न नदिने पनि चेतावनी दिएको पनि बताए ।
आक्रमणमा परेका तिनै जनाले बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको बताए पनि नेकपाले अहिलेसम्म घटनाको जिम्मा लिएको छैन । सम्बन्धित पार्टीले घटनाको जिम्मा नलिए पनि सत्तारुढ नेकपा निकट पत्रकारहरुले संचालन गरेका केहि अनलाइन मिडियाले भने विप्लवका कार्यकर्ताले आक्रमण गरेको ठोकुवा गर्दै समाचार प्रकाशन गरेका छन् । फाइल फोटो संचारकेन्द्रबाट