ओली प्रचण्डबीच अझै कुरा मिलेन, प्रचण्डका कारण रोकियो मन्त्रीमण्डल पुनर्गठन

मंगलबार, ३ मंसिर २०७६

काठमाडौं – कान्तिपुरले हटाइने मन्त्रीबारे नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच लगभग सहमति जुटिसकेको लेखेको छ । तर, प्रचण्डले विगतका सहमतिप्रतिको फरक-फरक बुझाइ भएकाले मन्त्रिपरिषद् हेरफेरसँगै दुई अध्यक्षको भूमिकाको पनि व्याख्या हुनुपर्ने मत राखेपछि छलफल थप लम्बिएको समाचारको सार छ ।

‘मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच खलगभग सहमति जुटिसकेको छ । सँगै कार्यविभाजनको पनि कुरा आएपछि मन्त्री हेरफेरको विषय केही पर धकेलिएको छ’, स्रोतको हवाला दिँदै विनु सुवेदीले समाचार लेखेकी छन् ।

कान्तिपुरका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली उद्योगत तथा वाणिज्यमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र युवा तथा खेलकुद मन्त्री जगत् विश्वकर्माको कार्यशैलीबाट सन्तुष्ट छैनन् ।

प्रधानमन्त्रीनिकट स्रोतको हवाला दिँदै कान्तिपुरले यिनै मन्त्री हट्ने सूचीमा रहेको उल्लेख गरेको छ । हट्ने मन्त्रीबारे कान्तिपुरले चर्चा गरे पनि नयाँ मन्त्रीबारे भने उसले केही उल्लेख गरेको छैन ।