कांग्रेसले मात्र संघीयता सफल बनाउन सक्छ : कांग्रेस नेता कोइराला

शुक्रबार, २२ भाद्र २०७५

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रधानमन्त्री ओलीका बिरुद्ध खरो रुपमा उत्रिएका छन् । बिपी अध्ययन प्रतिष्ठान मोरङले आयोजना गरेको ‘आजको सन्दर्भमा बिपीको राष्ट्र, राष्ट्रियता, लोकतान्त्र र समाजवाद’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले ‘राज्य पनि मै हुँ कानुन पनि मै हुँ’ भन्ने भावना सरकारमा देखिएको बताए ।

उग्रराष्ट्रवाद र लोकप्रियतावादले देश आक्रान्त बनेको भन्दै उनले भने, ‘कम्युनिस्ट स्कुलिङबाट आएको सरकार जनवादी केन्द्रीयतामा विश्वास गर्छ । लोकतान्त्रिक राज्य व्यवस्थामा विश्वास गर्दैन,’ अगाडी भने, ‘कांग्रेसले मात्र संघीयता सफल बनाउन सक्छ।’

प्रधानमन्त्री कुनै पनि प्रदेशसभामा गएर भाषण गर्नु आफैमा संघीयताविरोधी अभ्यास भएको उनले टिप्पणी गरे। अर्थतन्त्र, न्यायालय, नेपाली सेना लगायत देशका महत्त्वपूर्ण निकाय ध्वस्त पार्ने क्रममा सरकार लागेको उनले आरोप लगाए।

मंसिरमा हुने महासमिति बैठकले कांग्रेसलाई नयाँ कोर्समा पुर्‍याउने बताउँदै उनले कांग्रेसभित्रका खराबीलाई त्याग्न जरुरी रहेको भनाइ राखे। ‘बिपी कोइरालाको आदर्शलाई कांग्रेसले बिर्सियो। क्षेत्रका साथी जिल्ला र जिल्लाका साथीहरु केन्द्रका साथीको इसारामा हिँड्दैछन,’ नेता कोइरालाले भने, ‘केन्द्रका साथीहरू कुन इसारामा हिँड्छन् त्यो थाहा भएन।’