मेडिकल माफिया बिरुद्व संघर्षरत एक विद्यार्थीको अन्तरमनको कथा

सोमबार, २३ मंसिर २०७६

काठमाडौं – चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् प्रविन लामा (स्याङतान्) । उनी शिक्षाको मन्त्रालयले उपलव्ध गराउने छात्रबृद्धि कोटाबाट अध्ययन गरिरहेका छन् । विद्यार्थी र अभिभावहरु माथिको शोषणाका कारण उनी विगत चार महिनादेखि आन्दोलित छन् । उनले विद्यार्थीहरुको आन्दोलन र आफूले भोगको पिडाका विषयमा एउटा लेख लेखेका छन् । हेर्नुहोस उनको मनछुने अन्तरमनको कथा ।

श्रावण २५ गतेका दिन देखि औपचारिक रुपमा पठनपाठनको कामलाई थाती राख्दै ,चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, विसंगति र तमाम समस्या समाधान गरि सम्पुर्ण विधार्थी र स्वास्थ्यकर्मीहरुको हकअधिकार स्थापना गर्न गण्डकी मेडिकल कलेज पोखरा गयौं, त्यसपछि युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवा, जानकी मेडिकल कलेज जनकपुर, नेशनल मेडिकल कलेज वीरगन्ज, काठमाडौं विश्वविधालय धुलिखेल र अन्य थुप्रै मेडिकल कलेजहरुमा दिनरात नभनी हिडियो।

हाम्रा मागहरु सामान्य छन् १) सरकारले निर्धारण गरेको शुल्कमा पढ्न पाउनुपर्ने २) बढि लिएको शुल्क फिर्ता गर्नुपर्ने ३) विधार्थीले परिक्षाको समयमा विरामी खोज्नुपर्ने प्रणालीको अन्त्य हुनुपर्ने ४) नर्स दिदीबहिनीहरुको श्रम सोशन बन्द गरि योग्यता अनुसारको पारिश्रमिक र रोजगार पाउनुपर्ने यस्तै अन्य मागहरु थियो र छन्।

आफू शिक्षा मन्त्रलायको छात्रवृत्तिमा पढिरहेको मान्छे, न पैसा तिर्नु पर्छ न त फिर्ता नै, त्यसमाथि कलेज प्रशासनलगायत अन्य सरकारी निकायको अनेक मानसिक र शारीरिक यातनाको सिकार बनिरहें । तीन तीन पटक हिरासत जीजन बितायौ, पहिलो २१ दिन, दोस्रो २६ र तेस्रो २ दिन । गल्ती एउटै थियो उल्लेखित मागहरुको लागि बोलि रहने, न्याय र समानताको लागि लडिरहेने । चिकित्सा शिक्षा र स्वास्थ्यसेवा आम नागरिकको पहूजमा पुर्‍याउन सर्वशुलभ गुणस्तरीय बनाउन माग गर्ने।

अन्दोलनका कार्यक्रमहरु घोषणा गर्यो भदौ ५ गते रिपोटर्स क्लब काठमाडौबाट पत्रकार सम्मेलन गरेर । संघर्षको दौरानमा सयौं चोटी पोलिसले लखेटे, लाठी र बुटहरु आमाले सुम्सुमेर छाडेका छातीमा बर्सिए, रगतका छिट्टाहरु बाटाहरुमा रक्तम्या हुने गरि उछिटिए । मेरा ती अबोध भाइ बहिनीले न्याय माग्दै बोर्ड परिक्षाको फारम भरेनन्, आफ्नो जीवनलाई हत्केला राख्दै परिक्षा बहिष्कार गरे, प्रबेश पत्र जलायो । तर सरकार अझै मौन छन्, तीनका कोमल शरिरमा ती निर्दयी, दानव पुलिसले पिटेका नील डाम, रगतका छिर्का र आलो घाउ बोकेर अझै न्याय पर्खिरहेका छन्।

माफियाको र सरकारी निकाय (पुलिस प्रशासन)को चलखेल न्यायको आवाज दवाउन यता लाचार र उता सरकार र मौन । हामीलाई फसाउन होस्टेलमासमेत पेस्तोल राखी पक्राउ गर्ने घृणित र गम्भीर षड्यन्त्र भएपछि म होस्टेल छोडी हिडे र हिडिरहेको छु । संघर्षको दौरानमा धेरै मान्छेहरु नजिक भए र कति टाढा भयो । जबजब क्रान्ति अर्थात संघर्षले सफलता लिन खोज्छ त्यतिबेला ती कायर गद्दार र अबसरबादीहरु यसरी आउँछन् मानौ उनी नै युद्ध मैदान लडिरहेका थिए । जवजब आन्दोलन असफल हुन्छ र बनाउछ त्यतिबेला मुसाका दुलोहरुमा भाग्ने कायर र गद्दारहरु छ्यासछ्यासती भेटिन्छ यो स्वार्थी दुनियाँमा । तर इतिहासहरु कायर र गद्दारले लेखीदैन वीर र शहिदहरुले लेखिन्छ ।

मेरो व्यक्तिगत रुपमा भन्नुपर्दा कुनै लिनु या दिनु छैन तर यो अत्याचारको सिमा नागेको हेरिरहन सक्दिन । सबै संकाय र सबै तहको विधार्थीलाई मान्य हुने न्याय पाउनुपर्छ। भावि पुस्ताले सर्बशुलभ रुपमा मेडिकल शिक्षा पढ्न पाउनुपर्छ, सबै पिछडिएका जाती र समुदायले समानुपातिक रुपमा पहुँच राख्ने हैसियत बनाउनु पर्छ । सम्पूर्ण गरिब र धनीले सहज र उपयुक्त हुने खालको स्वास्थ्यसेवा हुनुपर्छ । सम्पूर्ण विधार्थी र स्वास्थ्यकर्मीहरुले आफ्नो जीउधनको सुरक्षाको प्रत्याभूति गरि उचित सेवा सुविधा र पारिश्रमिकमा निर्धक्क रुपमा आफ्नो कार्य सम्पादन गर्न पाउनुपर्छ ।

मेरो जीवन यहि कामको लागि समर्पण गर्दछु । मलाई असिमीत र अमुल्य माया गर्ने चितवन मेडिकलका आदर्णीय सिनियर, प्यारो साथीहरू प्रिया मुटुको ढुक्ढुकी भाईबहिनी र देशै भरिका विधार्थी नेतृत्वमा हार्दिक आभार तथा नमन व्यक्त गर्दछु। धन्यबाद ।।