प्याजको मूल्य घट्यो

बिहिबार, २४ पौस २०७६

काठमाडौं – केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरु भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो।

बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतिय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ।भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ। आजको मूल्य सूचीअनुसार औषतमा १ सय १५ रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ । यस्तै थोक बजारमा चिनियाँ प्याजको औषत मूल्य ८५ रहेको कालिमाटी तरकारी बजारको तथ्याङकले देखाउँछ।

कालिमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठले भारतीय बजारमा प्याजको मूल्य कम भएकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको बताए।‘भारतीय बजारमा नयाँ प्याज आएपछि मूल्य घटेको छ,’ उनले भने, ‘भारतले प्याजमा गरेको प्रतिबन्ध फुकुवा नगरेपनि केही खुकुलो भएको छ। त्यसैले उता मूल्य घटेपछि नेपाली बजारमा पनि मूल्य घटेको हो।’

यही हप्ताको आइतबारसम्म २०र२२ टन प्रतिदिन प्याजको आयात हुने गरेकोमा मंगलबार ७० तथा बुधबार ६४ टन प्याज भारतबाट आयात भएको श्रेष्ठले बताए।विगत एक महिनामा १३ सय ६० टन प्याज आयात भएकोमा ७ सय ४१ टन चीनबाट ४ सय ३२ टन भारतीय प्याज आएको थियो। बाँकी नेपाली प्याज थियो । भारतबाट आउने प्याज निरन्तर बढेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

भारतमा एक महिनाअघि मात्रै प्रतिकेजी १ सय ५० रुपैयाँ रहेको प्याज अहिले ७० भारुमा झरेको छ। एशियाकै सबैभन्दा बढी प्याजको उत्पादन हुने नासिक, गुजरात तथा राजस्थानमा नयाँ प्याजको उत्पादन भएको छ। भारतीय संचार माध्यामकाअनुसार यी ठाउँबाट प्याजको आपूर्ति दुई गुणासम्मले बढेको छ।नासिकमा पछिल्लो केही दिनमा प्याजको मूल्य प्रति क्विन्टल ४ हजार भारुसम्म घटेको छ। संचार माध्यामहरुले थोक प्याजको मूल्य केही दिनमै ३० भारुसम्म पुग्नसक्ने बताएका छन्। मूल्य घट्ने शंकाले किसानहरु प्याज बेच्न हतार गरिरहेको बताइएको छ।