निर्मला हत्या प्रकरण : डीएनए टेष्ट नेगेटिभ आएपछि प्रहरीले अभियुक्त भनिएका विष्ट छुटे
भदौ २६, कंचनपुर – निर्मला पन्तको बलात्कारपछि हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भएका छन्। अनुसन्धानका लागि पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनी पनि आजै नै छुटेका छन् ।
डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई अभियुक्त बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए ।
अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले विष्टलाई फसाउन घरबाट सर्टको खल्तीको टुक्रा ल्याएर घटनास्थलमा फाली मृतक निर्मलाका बुवालाई देखाएका थिए । जुन षड्यन्त्र सार्वजनिक भएपछि स्थानीय स्तरमा प्रहरीको विरोध भएको थियो ।
एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको भनेर राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरिसकेका छन् । एसपी विष्टलाई सरकारले निलम्बन समेत गरेको छ ।