अनलाइनका माध्यमबाट ठगी गर्ने ८ जना पक्राउ

बिहिबार, १६ माघ २०७६

विराटनगर–अनलाइनमार्फत ठगी गर्ने ६ जना महिलासहित ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अनलाइन सपिङका माध्यमबाट सस्तोमा सामान उपलब्ध गराउने भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेर मोरङ प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्तिहरू सुनसरी, मोरङ र खोटाङ जिल्लाका विभिन्न क्षेत्रमा बसोबास गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले सार्वजनिक गरेका व्यक्तिहरूमा खोटाङ जन्तेढुंगा गाउँपालिका वडा नं. ४ का २२ वर्षीय शिवजी खड्का, सोही ठाउँकी देवी चौलागाईं, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ३ का ३६ वर्षीय विशाल अर्याल भन्ने निरञ्जनप्रसाद आचार्य रहेका छन् । सुनसरीको धरानकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम, २१ वर्षीया लक्ष्मी कार्की रहेको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

पक्राउ गरी सार्वजनिक गरिएका व्यक्तिहरूले संगठित रूपमा अनलाइन सपिङको प्रलोभन देखाई आमउपभोक्तालाई ठगी गर्दै आएको अधिकारीले बताए । आरोपित व्यक्तिहरूमध्येका आचार्य ठगीधन्दाको नेपालतर्फका प्रमुख व्यक्ति रहेको एसपी अधिकारीको भनाइ छ । अभियुक्तमध्येका आचार्यले बेस्ट बाई नामक फेसबुकको फर्जी अनलाइन सपिङमार्फत विभिन्न सामग्रीहरू खरिद गर्न सर्वसाधारणलाई आकर्षित गर्ने र सामान खरिद गर्न सर्वसाधारणले जम्मा गराएको रकम ठगी गरी सामानसमेत नदिने गरेको अधिकारीले बताए ।

ठगिधन्दा चलाउन विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरी कीर्ते हस्ताक्षरबाट अनेकौं बैंकमा खाता खोलिएको र सर्वसाधारणले रकम जम्मा गर्ने वित्तिकै रकम झिकेर खाता बन्द गर्ने गरिएको भेटिएको उनको भनाइ थियो । छत्रकुमारी धमला नामक एक महिलाको नागरिकताको फोटोकपी प्रयोग गरी अभियुक्तहरूले एनआईसी एशिया बैंक विराटनगरमा खाता खोलेको र सोही फोटोकपीको आधारमा सिमकार्डसमेत निकालेर ठगिधन्दा चलाएको अनुसन्धानको क्रममा खुलेको छ । ठगिधन्दा गरेको भन्दै उजुरीपछि उक्त महिलाको खाता रोक्का भएपछि गरिएको छानबिनमा घटनाको रहस्य खुलेको जनाइएको छ ।

संगठित रूपमा गरिएको ठगिधन्दामा भारतीयहरूको समेत संलग्नता रहेको देखिएको जानकारी दिंदै एसपी अधिकारीले ठगिधन्दाको कमिशनबापत मात्र १ करोड रूपैयाँ भारतीय गिरोहलाई पठाइएको खुलेको बताए । प्रहरीले अभियुक्तहरूको साथबाट ६७ लाख ९९ हजार ७ सय ५० रूपैयाँ नगद, ३७ वटा एटीएम कार्डहरू र विभिन्न बैंकका ५८ वटा चेकबुकसमेत बरामद गरेको छ । यसैगरी फोटोकपी मेशिन, कम्प्युटर, सिमकार्ड, मोबाइल र भंसार प्रज्ञापनको नक्कली भौचरसमेत बरामद भएको छ ।

यो पनि पढ्नुहोस्

आफ्ना कर्तुत लुकाउन एलआइसीको फण्डा : पत्रकारलाई करोडको अफरदेखि प्रहरीमा उजुरीसम्म