आईएमई र यूकेएडबीच सम्झौता

शुक्रबार, १७ माघ २०७६

काठमाडौं – आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेड र युकेएडसक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमका बीच ‘आइमाई पे’ का तर्फबाट सीईओ विकासकुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौतापछि आईएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तर सम्म वित्तिय पहुँच पुर्‍याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रम जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री लाल बाबु राउतले जनकपुरधामलाई क्यासलेस सहरका रूपमा विकसित गर्नका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए । आईएमईको सीईओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए ।

पोखरेलले यसका लागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा गरे । त्यसैगरी, आईएमईडिजिटल सोलुसन लिमिटेडका सीईओ विकासकुमार नाहाटाले मानिसलाई डिजिटल वित्तीय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्काजस्ता भौतिक रूपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने बताए ।