शंकटको वेला स्वास्थ्यकर्मीलाई विदा, पैसा छैन भन्दै नगरपालिकाले गर्यो यस्तो निर्णय

सोमबार, ८ बैशाख २०७७

कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले स्वास्थ्यकर्मीलाई विदामा बस्न आग्रह गरेको छ । स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र आधारभुत स्वास्थ्य केन्दमा बढि भिडभाड भएको भन्दै स्वास्थ्य कर्मीहरुलाई विदामा बस्न आग्रह गरेको हो ।

मोटिभेट न्यूज डटकमलाई प्राप्त पत्र अनुसार स्वास्थय चौकीमा २ जना स्वास्थ्यकर्मी र आधारभुत स्वास्थ्य केन्द्रमा एक जना स्वास्थ्यकर्मी मात्र रहने गरी व्यवस्था गरेको छ । पत्रमा आलो पालो गरेर सेवा प्रवाह गर्न स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र आधारभुत स्वास्थ्य केन्द्रलाई निर्देशन दिएको छ ।

शंकटको वेलामा सबै स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राख्नको सट्टा नगरपालिकाले विदा दिएर बजेटभार कटौतीको प्रयास गरेको छ । स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको इन्सेन्टिभका लागि बजेट अभाव भएकाले स्वास्थ्यकर्मीहरुलाई विदामा राखेको एक स्वास्थ्यकर्मीले बताए । सरकारले कोरोना विरुद्धको अभियानमा जोडिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई ठूलो इन्टेन्सिभको व्यवस्था गरेकाले नगरपालिकालाई आर्थिक भार पर्ने बताइएको छ ।

यता नगरपालिकाले भने कसैलाई विदामा नराखेको जनाएको छ । रास्कोट नगरपालिकाका मेयर काँशीचन्द्र बरालका अनुसार भिडभाड कम गर्न हाजिर गर्न नपर्ने व्यवस्था गरिएको हो । स्वास्थ्यकर्मीहरुलाई गाउँगाउँमा पठाएर स्वास्थ्य सेवा दिन भनिएकाले हाजिर गर्न आवस्यक नपरेको बताए । स्वास्थ्य संस्थामा जाँदा भिडभाड हुने भएकाले भिडभाड नहोस भनेर यस्तो व्यवस्था गरिएको मेयर बरालको भनाई छ ।

मेयरले स्वास्थ्यकर्मीलाई गाउँ पठाएको भनेपनि त्यसको कार्यन्वयन भएको छैन । कार्यन्वयन भएको मात्र छैन स्वास्थ्यकर्मीलाई यस विषयमा जानकारी पनि नभएको गाउँमै रहेका पत्रकार लंकराज धमालाले बताए । उनका अनुसार कुनैपनि स्वास्थ्यकर्मी गाउँमा नखटिएको र नगरपालिकाले विदा दिएको भन्दै ढुक्कसाथ घरमै बसेको बताइएको छ ।

‘सुत्केरी गराउन परे, अत्यावस्यक स्वास्थ्य सेवा दिन परे एक जना वा २ जना स्वास्थ्यकर्मीको भरमा कसरी स्वास्थ्य सेवा प्रभावकारी होला ? स्वास्थ्यकर्मीले प्रस्न गर्न थालेका छन ।

लकडाउन उल्लङ्घन

रास्कोट नगरपालिकाले चर्चाका लागि नाकाहरुमा चेक जाँच गरेर मात्र पालिका भित्र प्रवेशको व्यवस्था गरेको थियो । तर त्यो व्यवस्था एक हप्ता पनि टिक्न सकेन । अहिले नाकाहरुबाट स्वास्थ्यकर्मीहरुको टिलीलाई फिर्ता पठाएर गाउँमै काम गर्न भनिएको नगरप्रमुख बरालले बताए ।

बरालले भने, ‘नाकामा बसेको कुनै अर्थ लागेन । आउने मान्छेहरु चोर बाटोबाट राती राती आउने गरेकाले नाकामा राखिएको अस्थायी हेल्थ पोस्ट हटाइएको छ । त्यसका सट्टामा बाहिरबाट आएकाहरुको घरमै गएर स्वास्थ्य चेक जाँचको व्यवस्था मिलाइएको छ । शंकास्पद विरामीहरुलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।’

मेयरको भनाईलाई आधार मान्ने हो भने पहिला बाहिरबाट आएका विरामीलाई रोग सार्न दिने अनि मात्र चेकजाँच गर्ने हो । कोरोना संक्रमित व्यक्ति गाउँ छिरेको खण्डमा स्वास्थ्यकर्मी उसको घर आउँदासम्म धेरैलाई भेटिसकेको हुनेछ र रोग पनि सारी सरीसक्नेछ । बाहिरबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्न संघिय सरकारले निर्देशन दिएको छ । पछिल्लो समय नेपालमा लक्षण विनाका व्यक्तिहरुमा पनि कोरोना देखिएको छ । यसले झन सजक हुने ठाउँमा नगरपालिकाले लकडाउन खुकुलो पार्दै नगरवासीलाई असुरक्षित बनाएको छ ।

सिमा नाकाबाट स्वास्थ्यकर्मीको टोली हटाएपछि कति जना नगरपालिकामा भित्रिए र कति जना बाहिए भन्ने तथ्यङ्क संकलनमा समेत समस्या देखिएको छ । गाउँमा लकडाउनको खासै पालना नभएको पत्रकार धमलाको भनाई छ । उनका अनुसार आइतबार राती मात्र ९ जनाको टोली नगरपालिकाको वडा नम्बर ८ मा प्रवेश गरेको बताइएको छ । उनीहरु पचालझरना गाउँपालिकाबाट आएका हुन ।

उनीहरुको स्वास्थ्य अवस्था र नगरपालिकामा प्रवेश गर्नुको कारण नगरपालिकामा नरहेको धमलाको भनाई छ । अत्यावस्यक सेवालाई कडाई गरेर बसेको नगरपालिकाले नगरपालिकाका जनताको स्वास्थ्यमा खासै ख्याल नगरेको एक स्वास्थ्यकर्मीको भनाई छ । बैंक र स्वास्थ्य सेवामा कडाइ गरेको नगरपालिकाले आवतजावतमा खासै वास्ता गरेको देखिएको छैन ।

सरकारले एक स्थानिय तहबाट अर्को स्थानिय तहमा आवतजावत गर्न प्रतिबन्ध लगाएको छ । तर रास्कोट नगरपालिकाले यसको कार्यन्वयन गरेको छैन ।