प्रचण्डको विज्ञप्तिले ओलीलाई तनाव, ओलीमाथि लगाए गम्भिर आरोप

बुधबार, १० बैशाख २०७७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् । कम्युनिस्ट पार्टी को ७१ औं स्थापना दिवसको अवसर देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन् ।

देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले प्रधानमन्त्री केपी ओली मार्फत आफूलाई प्राहर गरेको भन्ने आशयको विज्ञप्तिले प्रधानमनी ओलीलाई झट्का लागेको छ । उनले पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील समेत गरेका छन् ।

बुधबार विहान जारी प्रेस वक्तव्यमा प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।

‘ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

प्रचण्डले भनेका छन्, ‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

७१ वर्ष लामो राजनीतिक संघर्षका दौरान कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र नगरेको बरु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको प्रचण्डले उल्लेख गरेका छन् ।

कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका प्रचण्डको भनाइ छ ।

‘प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस ९कोभिड–१९० मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको भन्दै प्रचण्डले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र जनसमुदायमा अपील गरेका छन् ।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली तथा बेपत्ता र घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै प्रचण्डले नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।