नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना

बुधबार, १० बैशाख २०७७

काठमाडौं – नेपालमा छैटौं व्यक्तिले कोरोना जितेका छन । गत चैत १२ गते कोरोना संक्रमण पुष्टि भएका धादिङका एक युवा निको भएका हुन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाभाइरसको संक्रमणपछि उपचाररत ३२ वर्षीय उर बहादुर तामाङ स्वस्थ बनेको अस्पतालले जनाएको छ ।

उपचाररत तामाङ कोरोना भाइरसमुक्त भएपछि डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । प्रयोगशाला परीक्षणका क्रममा कोरोना संक्रमण नदेखिएकाले आज वा भोलिसम्ममा ती युवालाई डिस्चार्ज गर्ने तयारी गरेको उनले बताए । धादिङको स्थानीय तहसँगको समन्वयपछि उनलाई डिस्चार्ज गर्ने उनको भनाइ छ ।

तामाङ चैत ६ गते युएईको सारजाहबाट एयर अरेबियाको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश आएका थिए । उनी ६ गते नेपाल आएपनि १० गते अस्पताल पुगेका थिए भने १२ मात्रै कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको पुष्टि भएको थियो ।

यसरी नेपालमा कोरोना संक्रमण भएर निको भएर घर जानेको ६ जना पुगेको डाक्टर बास्तोलाले बताए । डाक्टर बास्तोलाका अनुसार टेकु अस्पतालबाट कोरोना संक्रमित यस अघि दुई जना निको भएर घर फर्किसकेका छन् । नेपालमा हालसम्म ४२ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।