नियतबस कोरोना भाइरस फैलाएको आरोपमा चीनविरुद्ध मुद्दा दायर

बुधबार, १० बैशाख २०७७

काठमाडौं – चीनले नियतबस कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलाएको आरोप लगाउँदै अमेरिकाको मिसौरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ । मिसौरीका महान्यायाधिवक्ता एरिक स्मिटले मंगलबार अमेरिकाकै अदालतमा चीनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

अमेरिका र चीनको बीचमा यो महामारीको जिम्मेवारीको विषयमा विवाद जारी रहेकै समयमा अमेरिकी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको हो ।

मिसौरीले दायर गरेको मुद्दामा यो भाइरस नियन्त्रणको लागि चीनले आवश्यक कदम नचालेको र यसको कारण मिसौरीका बासिन्दाहरु अर्बौं डलरको क्षति सहन बाध्य भएको उल्लेख छ । चीन सरकारले यो भाइरसको जोखिम तथा यसको प्रकृतिबारे विश्वासलाई समयमा नै जानकारी नदिएको पनि मुद्दामा उल्लेख गरिएको छ ।

बीबीसीका अनुसार मंगलबार दायर गरिएको मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी तथा संस्थाहरुलाई विपक्षी बनाइएको छ ।