अन्तत: फुटेरै छोड्यो समाजबादी पार्टी, रेणु यादवको नेतृत्वका नयाँ दल गठन

बिहिबार, ११ बैशाख २०७७

काठमाडौं – उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी फुटेको छ । नेतृ रेणु यादवको नेतृत्वमा विभाजित समूहले नयाँ दल गठन गरेको छ ।

नयाँ दलमा ८ सांसद छन् । यादव सहित मोहम्मद इस्तियाक राइ, सुरेन्द्र यादव, विमल श्रीवास्तव, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङले नयाँ दल गठन गरेका हुन् ।

राजपा र समाजवादी एकीकरण घोषणासँगै उनीहरुले पार्टी विभाजनको घोषणा गरेका हुन् । पार्टी विभाजन रोक्न राजपा र समाजवादीले एकता घोषणा गरेका थिए । समाजवादी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले शक्ति र पैसाको आडमा आफ्नो दल विभाजन गराउन खोजेको आरोप लगाएका थिए ।

सरकारले सोमबार मात्र दल विभाजनसम्बन्धी कानून खुकुलो पार्ने गरी अध्यादेश ल्याएको थियो । पार्टी विभाजनपछि बन्ने नयाँ दलले मान्यता पाउन केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशतको समर्थन भए पुग्ने व्यवस्था अध्यादेशमा गरिएको छ । यसअघि दुवैमा ४० प्रतिशत चाहिने प्रावधान थियो ।

प्रधानमन्त्री ओलीले नेकपा सचिवालयले बैठकमा पार्टी नेताहरुलाई दल विभाजनसम्बन्धी अध्यादेश नेकपातर्फ नभई अन्यत्रै लक्षित भएको बताएका थिए ।