काँग्रेस सभापति देउवाले देखाए राजनीतिक संस्कार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक संस्कार देखाएका छन । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेकोमा खुसी व्यक्त गर्दै उनले राजनीतिक संस्कार देखाएका हुन ।
देउवाले यो बिहिबार एक विज्ञप्ति जारी गर्दै एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई मजबुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’
नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैलाई नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट देउवाले बधाई तथा शुभकामना दिएका छन् ।
बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । नेताहरूको पद बाँडफाँट गरिएको छैन । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।
‘जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको छ ।