हवाई उडान जेठ २ सम्म बन्द

शनिबार, १३ बैशाख २०७७

काठमाडौं – अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द हुने भएका छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले जेठ २ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । त्यसपछि वैशाख ३ सम्म प्रतिवन्ध लम्बाइएको थियो । त्यसपछि फेरि १८ गतेसम्म प्रतिवन्ध विस्तार भएको थियो ।

सरकारले आन्तरिक उडान मात्रै रोकेको छैन, विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन प्रतिवन्ध लगाएको छ । तर, विदेशी एयरलाइन्सहरुले नेपालबाट यात्रु लिएर जान खाली विमान पठाउन सक्छन् ।