नेपालबाट भारत गए २ जनामा कोरोना देखिएपछि दुईटा गाउँ सील

शनिबार, १३ बैशाख २०७७

काठमाडौं – भारतीय पक्षले नेपालबाट फर्किएका दुई भारतीय मजदुरमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी दिएपछि बर्दिया जिल्लाका दुई स्थानमा अहिले उच्च सतर्कता बढाइएको नेपाली अधिकारीहरूले बताएका छन्।

बर्दियाको कोठियाघाटस्थित क्रशर उद्योगमा काम गर्ने ती मजदुरहरू लकडाउनकै बेला गत वैशाख ५ गते उत्तर प्रदेशमा पर्ने बहराइच फर्किएका थिए।

केही हप्तादेखि नेपाल भारत सीमानाका बन्द भएको भए पनि उनीहरू लुकिछिपी भारत गएको हुन सक्ने बर्दियाका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

उक्त क्रशर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिकले काम गर्ने गरेको खुलेको छ। नेपालबाट भारत फर्किएपछि उनीहरूको बहराइचस्थित स्थानीय अस्पतालमा परीक्षण गर्दा कोभिड १९ पुष्टि भएको भन्दै भारतीय प्रहरीले बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीलाई पत्रमार्फत् जानकारी गराएका थिए ।

सम्भावित सङ्क्रमित व्यक्ति भएको भन्दै रोग फैलिन नदिन बर्दियाको सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले उक्त जानकारीका आधारमा ती भारतीय नागरिकसँगै काम गर्दै आएका क्रशर उद्योगका सबै मजदुरबाट नमुना सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए। गिरीले भने, ‘वैशाख ५ गतेसम्म बर्दियामै रहेका व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि जोखिम बढेको ठानिएको हो।’