कहिले खुल्छन स्कुल ? शिक्षामन्त्री भन्छन, ‘लकडाउन खुले पनि स्कुल खुल्दैनन्’
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् ।
विद्यार्थीहरुको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ ।
शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापन सम्बन्धी शनिबार आयोजना गरेको भर्चअल प्रेसमिटमा मन्त्री पोखरेलले देशभर २५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताए ।
‘जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किदैन । परीक्षाहरु पनि सञ्चालन हुनसक्छन्,’ उनले भने । जाडो गर्मी विदा, चाडपर्वका विदा कटाएर साथै, अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलको भनाइ छ ।
मन्त्री पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले शैक्षिक कार्यक्रम र योजना तय गर्ने बताएका छन् । शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै छ ।
आइतवारै मन्त्रिपरिषद्ले १५ वैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकैका आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताए ।