ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्ने सिडियोको सरुवा

आइतबार, १४ बैशाख २०७७

काठमाडौं – गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भगिरथ पाण्डेको आकस्मिक रुपमा सरुवा गरेको छ । प्रजिअ पाण्डेलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई खटाइएका छन् ।

ललितपुरका प्रजिअ पाण्डेलाई भट्टले सम्हाल्दै आएको महाशाखामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। पाण्डेको कार्यशैलीलाई लिएर मन्त्रालय असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

भट्टले आफ्नो ललितपुर प्रजिअमा सरुवा भएको र आइतबार जिम्मेवारी सम्हाल्न जान लागेको बताए। भट्ट मन्त्रालय आउनु अघि भक्तपुरको प्रजिअ थिए । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार साँझ सरुवाको निर्णय गरेका थिए ।

केही दिनअघि सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही पक्राउ परेपछि पाण्डेको आलोचना भएको थियो । यही कारणले उनलाई मन्त्रालयमा तानेको हुनसक्ने आशंका गरिएको छ ।