सशस्त्रका डिएसपीले रगत दिएर बचाए युवतीको ज्यान
बैतडी – महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन्।
दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबार रगत दिएका हुन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले एक युनिट तथा ३५० एमएल रगत दिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए।
बी पाजेटिभ रगत अभाव भएपछि बिरामीका आफन्तले सशस्त्र प्रहरीलाई गुहारेको थियो। युवतीको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ। रगत दानपश्चात युवतीको ज्यान बचेको डा. जोशीले बताए।
‘लकडाउनका बेला रगत खोज्न समस्या भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भयो’ रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले भने।