राजीनामाबारे छलफल गर्न काठमाडौं आए बागमतीका मुख्यमन्त्री पौडेल
काठमाडौं – नेकपाभित्र शक्ति बाँडफाँडको मुद्दा प्रवेशगरेसँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अचानक काठमाडौं आएका छन ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको वार्तामा ओली समूहका नेताले विवाद समाधानका लागि मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेरको प्रस्ताव अगाडि सारेका थिए। यो प्रस्ताव सार्वजनिक भएलगत्तै सोमबार साँझ मुख्यमन्त्री पौडेल आफ्नो मुख्यमन्त्री पद जोगाउन काठमाडौं आएका हुन ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल शुक्रबारदेखि नै काठमाडौंमा छन । कोरोना रोकथाम, नियन्त्रण र निर्देशनमा जुटेका मुख्यमन्त्री पौडेलको काठमाडौं यात्रालाई चासोपूर्वक हेरिएको छ । मुख्यमन्त्री पौडेल नेकपा नेतृत्वसँग छलफल र वास्तविकता बुझ्नका लागि काठमाडौं गएको स्रोतले दाबी गरेको छ ।
अहिले मुख्यमन्त्री पौडेल नेकपा नेतृत्वसँग छलफलमा जुटेको र आज (मंगलबार) साँझसम्म छलफलमा उठेका कुराकानीबारे थाहा हुने नेकपा जिल्ला कमिटीले जनाएको छ ।
प्रधानमन्त्रीले बाग्मती प्रदेश र प्रदेश नम्बर ५ को मुख्यमन्त्री माधव नेपाल प्यानललाई दिने विषयमा छलफल चलिरहेको छ । एक नेताले दिएको जानकारी अनुसार बाग्मतीका मुख्यमन्त्री डोमणी पौडेर र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरिरहेका छन ।