रास्कोट नगरपालिकाको सुपथ मुल्य पसलमा गुणस्तरहीन सामान, स्थानियले लगाए पसलमा ताला
काठमाडौं – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले संचालन गरेको सुपथ मुल्य पसलमा गुणस्तरहीन सामान भेटिएको छ । पसलले कुहिएका, म्याद नागेका र गुणस्तरहीन सामान बेचको भन्दै स्थानियले पसलमा ताला लगाएका छन ।
केही दिनअघि तामझामका साथ स्थानिय जनतालाई राहत दिन भन्दै सहुलियतको नाममा खोलिएको सुपथ मुल्य पसलमा खानका लागि अयोग्य सामाग्री भेटिएको भन्दै आइसीपी वजार व्यवस्थापन समितिले ताताबन्दी गरेको छ । नगरपालिकाका मेयर काँशीचन्द्र बरालको संग्लग्नतामा खोलिएको उक्त पसलमा गुणस्तरहीन सामाग्री भेटिनु रहस्यको विषय भएको भन्दै तालाबन्दी गरिएको एक व्यापारी बताए ।
उनले भने, ‘राजनीतिक दाउपेचका लागि र पैसा कमाउने उद्येश्यले खोलिएको उक्त पसलले गुणस्तरहीन सामाग्री वेचेकाले तालान्बदी गरिएको हो ।’ ती व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा अगाडि भने, ‘ हरेक समानमा बजार भाउ भन्दा २० प्रतिशत सस्तोमा वेच्ने भनिएको छ तर ५ प्रतिशत पनि सस्तो गरिएको छैन । पसललाई चेतावनी दिनका लागि ताला लगाइएको हो ।’
समितिले सहुलियत पसलले पालना गर्नुपर्ने नियमहरु पालना नगरेको, नेपालको विद्येमान कानुन विपरित पसल संचालन गरेको, बजार व्यवस्थापन समितिसँग सल्लाह नगरेर पसल चलाएको, समानमा अत्याधिम मुल्य कायम गरेको र जनप्रतिनिधिलाई हचुवाको भरमा सामान उपलब्ध गराएको भन्दै तालबन्दी गरिएको जनाएको छ ।
हिमचुली कृर्षि सहकारी संस्थाको व्यवस्थापनमा संचालित उक्त पसलले दाल, चामल, नुन, तेल लगायतका खाध्य सामाग्री विक्री वितरण गर्दै आएको थियो । नगरपालिकाले यस विषयमा केही प्रतिक्रिया दिएको छैन ।
नगरपालिकाका मेयर बराल जिल्ला बाहिर रहेको बुझिएको छ । उनी व्यक्तिगत काममा लागि सुर्खेत झरेको नगरपालिका निकट श्रोतको भनाई छ । यस विषयमा बुझ्न खोज्दा मेयर बरालले फोन उठाएनन् ।
