कोरोना नलाग्ने भन्दै रक्सी खाँदा ७ सय २८ जनाको मृत्यु
काठमाडौं – रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा कारण ७ सय २८ जनाको ज्यान गएको छ । उनीहरुले अत्याधिक रक्सी सेवन गरेको अधिकारीहरुले बताएका छन् । यो खवर इरानको हो ।
गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए। इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो।
अल्जरीले संप्रेषण गरेको समाचार अनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवा गरेका थिए। इरान कोरोना भाइरसको सङ्क्रमण फैलिएको हिसावले मध्य पूर्वकै सवैभन्दा बढी प्रभावित देशमा पर्दछ।
इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जाहनपौरले शुरुमा पाँच सय ३८ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको बताए।
पछि मृत्यु भएकाहरुको विषाक्त रक्सीका कारण आँखा खराब भएर मृत्यु भएको जानकारी उनले दिए। इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ। तर रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौ व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सीहरु सेवन गरेका थिए।
विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरिरका अन्य अंगहरुलाई पनि काम गर्न नसक्ने बनाउने गरेको अधिकारीहरुले जनाएका छन्। उनीहरुलाई छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षणहरु देखिने गरेको थियो ।
इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८ सय ६ पुगेको छ भने ९१ हजारभन्दा बढी संक्रमित भएका छन्। यो संख्या मध्य पूर्वकै सबैभन्दा धेरै हो।