साढे २५ लाख धरौटी बुझाएर छुटेका अग्रवाल फेरि पक्राउ

बिहिबार, १८ बैशाख २०७७

काठमाडौं – काठमाडौं जिल्ला अदालतमा २५ लाख धेरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक शुलभ अग्रवाल फेरि पक्राउ परेका छन्।

अदालतको आदेशपछि अग्रवाल रिहा भएलगत्तै बिहीबार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फेरी पक्राउ गरेको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

‘सम्पत्ति शुद्धिकरण विभागले उहाँलाई छानबिन गर्ने भनेकाले पक्राउ गरिएको हो,’ ज्ञवालीले भने। यसअघि कालोबजारी आरोपमा अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।

मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।