कविता : त्यो भूमि बेचेँ किन !
साँच्चै शान्ति भएन है मुलुकमा सोचेर मैले बुबा
बेचेँ खेत सबै सबै दिनदिनै पाखा पखेरा कुवा
भो ऐले पछुतो यसै समयमा सम्झेर सारा दिन
साँच्चै स्वर्ग रहेछ देश सजिलै त्यो भूमि बेचेँ किन !
पूर्खौली सब त्यो जमीन यसरी बेचेर सक्दा पनि
साँच्चै नै कहिल्यै थिएन पछुतो हो सोच राम्रो भनि
कस्तो ढुक्क थिएँ त्यसै मनमनै सन्तोष सारा दिन
साँच्चै स्वर्ग रहेछ देश सजिलै त्यो भूमि बेचेँ किन !
खोलेँ होटल ती सहस्र धनले राम्रै लगानी गरी
राम्रो हुन्छ भने निवास खरिदेँ थुप्रै खजाना धरी
गाडी मोटर ती हरेक थरिका सामान किन्दा रिन
साँच्चै स्वर्ग रहेछ देश सजिलै त्यो भूमि बेचेँ किन !
पूर्खाको सबथोक नै सकिसकेँ बाँकी भए पो कतै
कोरोना यसरी समस्त जगमा आक्रान्त पारिस् सबै
रोयो विश्व सबै सबै जनहरू के ध्यान खाना पिन
साँच्चैँ स्वर्ग रहेछ देश सजिलै त्यो भूमि बेचेँ किन !
खायो विश्व समस्त भाइरसले छोडेन एउटै पनि
पूजा गर्छु परन्तु राष्ट्र त रहोस् नेपाल चोखो भनि
साँच्चै चुस्त दुरुस्त विश्वभरमा नेपाल कस्तो चिन
साँच्चै स्वर्ग रहेछ देश सजिलै त्यो भूमि बेचेँ किन !
शारदा पौडेल ‘निशा
चितवन
हाल स्पेन