बामदेवले फेरी जिल खाए, कोरोना संकट पछिको प्रधानमन्त्री बादल

बिहिबार, १८ बैशाख २०७७

काठमाडौं – देश कोरोनाले त्रसित बनेको बेला सत्तारुढ नेकपा भित्रको आन्तरिक विवादले भने कोरोनाको त्रासलाई समेत मात खुवाएको छ । खास गरी सत्तारुढ नेकपा भित्र पार्टी पद्धति र संगठन परिचालनको बिषयबाट शुरु भएको किचलो अन्तः प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग गर्ने स्थितिसम्म आईपुगेको छ ।

आफ्नो नै राजीनामा मागेपछि ओलीले बिहीबार बसेको पार्टीको सचिवालयको बैठकमा वामदेव कार्ड फालेका छन् । बैठकमा प्रधामन्त्री तथा पार्टी अध्यक्ष ओलीले राजनीतिमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेपनि नेपाल र प्रचण्ड समूहले भने ओलीको वामदेव कार्ड षड्यन्त्रपूर्वक ल्याईएको बताईसकेका छन् ।

ओलीले सचिवालयको बैठकमा फालेको गौतम कार्ड चुनाव हारेका गौतमलाई प्रधानमन्त्री बनाउन नभएर पूर्वमाओवादीका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई बनाउन ल्याएको प्रचण्ड निकट स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘अहिले ओलीले वामदेवलाई आफ्नो पक्षमा तान्नकै लागि कोरोनापछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपनि त्यो तत्कालै संभव नै छैन । एकातर्फ गौतम चुनावमा हारेका व्यक्ति हुन् । अर्कोतर्फ राष्ट्रिय सभा सदस्यमा ल्याउन र प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्दा त्यसको चौतर्फि विरोध हुने र प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर चुनाव लड्दा सरकारको अलोकप्रियताको कारण चुनाव जित्ने संभवना नभएकाले ओली समुहले वामदेव कार्ड फालेको हो ।’

वामदेव कार्ड : एक तीर तीन सिकार

ओलीको वामदेव कार्ड दीर्घकालीन राजनीतिक महत्वको रहेको सत्तारुढ नेकपाको उच्च स्रोतको दाबी छ । वामदेव कार्ड तत्कालिन र दीर्घकालीन दुबै अस्त्रको काम गर्ने संभवना रहेको छ । जसबाट ओली समूहले एक तीर तीन सिकार गर्ने सम्भावना प्रवल रहेको छ ।

पहिलो : ओलीले आफ्नो संकट टार्न वामदेव पक्षका सांसद र केन्द्रीय सदस्यहरुलाई उपयोग गर्नेछन् । दोस्रो : वामदेव गौतम समूहलाई आफ्नो पक्षमा लिई पूर्वमाओवादीका नेता बादललाई प्रधानमन्त्री बनाउँदा त्यसले प्रचण्ड र नेपाल समूहलाई ठीक पार्न महत्वपूर्ण भुमिका खेल्नेछ । फलस्वरुप ओली पक्ष पार्टी भित्र हावी हुनेछ ।

तेस्रो : ओली समूहमा नेतृत्व संकट रहेकाले बादललाई प्रधानमन्त्री बनाउन सहयोग गरे बादलले पनि अगामी महाधिबेशनमा ओली समूहलाई सहयोग गर्ने सम्भावना रहने र ओलीले ईश्वर पोखरेललाई नेतृत्व हस्तान्तरण गर्दै अर्को महाधिबेशनमा ५त्र७ बर्ष पछि प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेललाई पार्टी अध्यक्ष बनाउने दीर्घकालीन राजनीतिक एजेण्डा ठोस गरेको प्रचण्ड–नेपाल समूहको भनाई छ ।

ओलीले वामदेव कार्ड फालेको बताईरहँदा वामदेव भने केही बोलेका छैनन् । तर बादलले भने सचिवालयको बैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावको पक्षमा आफ्नो मत राखेको सत्तारुढ नेकपाको उच्च स्रोत बताउँछ । यो अघि पटक पटक ओली र प्रचण्ड नेपाल समूहको बीचमा चर्का चर्की चलेको बेला पनि बादलले दुबै समुहको पक्षमा नउभिएर तठस्त विचार राखेका थिए ।

बादलले प्रचण्डलाई लाल गद्धार घोषणा गर्नु पर्ने भन्दै तत्कालीन बैद्य माओवादीको बैठकमा पनि प्रस्ताव गरेका थिए तर पछि बैद्य, सीपी गजुरेल र विप्लवले विरोध गरेपछि उनी पछि हटेका थिए । आजीवन प्रचण्डको डोमिनेसनमा बसेका बादलले यसपटक ओलीको साथ लिएर प्रचण्ड माथि प्रहार गर्ने राम्रो अवसरका रुपमा लिएको बताईन्छ ।

महरा पनि ओलीको पक्षमा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग माधब कुमार नेपालको मिलेर जाने भएको सहमति प्रति लैनचौरले चर्को असहमति जनाएपछि नेपाल पछि हटेको र त्यसपछि प्रधानमन्त्री ओलीले एक शक्ति राष्ट्रका राजदुतसँग आफूलाई सहयोग गर्न अपिल गरेको तर सो राष्ट्रका राजदुतले ओली, प्रचण्ड र नेपाललाई मिलेर अगाडि बढ्न सल्लाह दिएको स्रोतको दाबी छ । त्यस्तै ओली कै कारणले सभामुख पदबाट चिप्लिएका महराले पनि विहिबार विज्ञप्ति जारी गर्दै ओलीकै पक्षमा रहेको भन्ने प्रकारको विज्ञप्ति जारी गरेको पूर्वमाओवादी वृतमा चर्चा चलेको छ ।

यसरी प्रचण्ड–नेपाल समहभन्दा ओली समूह पार्टीमा बलियो देखिएको छ । ओली निकट एक नेता भन्छन् हामीले प्रचण्डलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दिन पार्टीमा ल्याएका होईनौ । हाम्रो लक्ष्य त प्रचण्डलाई जेल जान बाट बचाउने मात्र हो तर अहिले उहाँले प्रधानमन्त्रीलाई नै पार्टी र सरकारबाट हटाउने दुस्साहस गरे । अब पूर्वमाओवादीलाई हामीले देखाई छाड्छौ । अख्तियारका मुद्धाहरु, द्वन्द्वकालका मुद्धाहरु अहिले पनि जिवित नै छन् तर प्रचण्डले त्यो बुझेनन् अब उनको राजनीतिक यात्रा ओरालो लागि सक्यो । केही समयपछि हेर्नु होला ती नेताले भने ।