अझै रोकिएन ट्रम्पको बोली, चीनमाथि लगाए अर्को गम्भिर आरोप
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको भन्ने कुरामा आफू विश्वस्त भएको बताएका छन्।
तर, उनले त्यसलाई पुष्टि गर्ने विस्तृत प्रमाणका बारेमा भने बताउन अस्वीकार गरे। उनको यो भनाइले बेइजिङसँग तनाव बढाउँदै लाने देखिएको छ।
उनले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको हो भन्ने प्रमाण आफूले हेरेको दाबी गरे। ‘यो मसँग छ’ ट्रम्पले भने, ‘मैले तपाईंहरूलाई भन्न मिल्दैन। मलाई त्यो भन्ने अनुमति छैन।’
अमेरिकाले यस्तो आरोप लगाएको भएपनि चीन सरकारको नियन्त्रणमा रहेको वुहान इन्सिटियूट अफ भाइरोलोजीले भने सुरुदेखि आरोपको खण्डन गर्दै आइरहेको छ। अरु अमेरिकी अधिकारीहरूले पनि यस सम्भावनालाई उत्ति जोड दिएका छैनन्।
थुप्रै विज्ञहरूले समेत यो भाइरस ल्याबबाट नभइ मासु बजारबाट जनावर हुँदै मानिसमा सरेको बताउँदै आएका छन्।