हुम्लाका नागरिकले आफै विमान चार्टर्ड गरेर गाउँ फर्किए

शनिबार, २० बैशाख २०७७

काठमाडौं – लकडाउनका कारण घर जान नपाएका हुम्लाका नागरिक आफैंं विमान चार्टर्ड गरी घर फर्किएका छन्। सुर्खेत र नेपालगन्जमा रहेका हुम्लाका नागरिक शनिबार विमान चार्टर्ड गरी गाउँ फर्किएका हुन्। हुम्लाका नागरिकलाई गाउँ लिन सीता एअरको विमानले शनिबार सुर्खेतबाट तीन वटा उडान गरेको छ। सुर्खेतमा विमान चार्टर्डका लागि संयोजकत्व गरिरहेका कार्चोन लामाका अनुसार प्रतिव्यक्ति १० हजार रुपैयाँ र नेपालगन्जबाट प्रतिव्यक्ति १० हजार ५ सय रुपैयाँ तिरेका छन्।

शनिबार सुर्खेतबाट ४५ जना नागरिक हुम्ला पुर्‍याइएको छ। लकडाउनका कारण नेपालगञ्ज र सुर्खेतमा गरी सयौं नागरिक फसेको लामाले बताए। नेपालगन्जबाट शनिबार सिता एयरले १२, ताराले १७, गोमाले १५ र सिम्रिक एयरमार्फत् १५ गरी ५९ जनालाई हुम्ला सदरमुकाम पुगेको लामाले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हुम्लामा विमान उडानको अनुमति दिएपछि नागरिक आफैंले विमान चार्टर्ड गरेर गाउँ फर्कन थालेका हुन् । लकडाउनका कारण सुर्खेत र नेपालगन्जमा अलपत्र परेका नागरिकको उद्धारका लागि मन्त्रालयले तीन दिनका लागि उडान भर्ने अनुमति दिएको छ। सिमकोट विमानस्थलमा दिउँसो हावाको वेग बढ्ने हुँदा हुम्लामा बिहान मात्रै उडान भर्न सकिने सुर्खेत विमानस्थले जनाएको छ ।