कोरोना भाइरसका कारण ७३ नेपालीको ज्यान गयो, पाँच हजार बढि संक्रमित

आइतबार, २१ बैशाख २०७७

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिएको जानकारी अनुसार ५ हजार २ सय ४७ जना संक्रमित भएका छन । संक्रमितमध्ये १५ सय ७० जना उपचारपछि निको भएको अनुमान गरिएको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको छ । कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार मध्यपूर्वका बिभिन्न देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युकेमा १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साइप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकङ्गमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीहरुलाई राहत वितरण गरिएको छ ।