काठमाडौं उपत्यकाको लकडाउन नखुल्ने, अरू कुन–कुन जिल्ला खुल्छन ?
काठमाडौं – कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समिति बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार गर्न निर्देशन दिएको छ।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो।
‘बैठकले भोलि समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ’,समिति बैठकमा उपस्थित एक मन्त्रीले भने।
अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउनेरकडा बनाउने तयारी गरे पनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने ती मन्त्रीले बताए।
‘लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ। यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने छलफल भयो,’ ती मन्त्रीले भने।
पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ।
नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्।