नेपाल–भारत सीमा क्षेत्रमा गोली चल्यो
वीरगञ्ज – नेपाल भारत सीमानाकामा गोली चलेको छ । लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फाएर गरेको हो ।
भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो । भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई नियन्त्रणमा लिएको थियो ।
नेपाली सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि नेपालीहरु पनि प्रतिकारका लागि पुगेका थिए । दुवै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाई बुझाई गरेर घर फर्काएका छन् ।
स्थानीयका अनुसार भारतको सीमावर्ती गाउँ हनुमाननगरका कतिपय बासिन्दाको खेतमा जान नेपालको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रमा २०÷२५ बिघा जमिनमा उनीहरुले बाली लगाएका छन् । लकडाउनपछि उनीहरुलाई नेपालतर्फ आउनमा रोक लगाइएको छ । एक–एक जना गरेर आउने भनेपनि नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नमिल्ने अडान राख्दै आएका थिए । तर खेतमा तयार भएको तरकारी लगायतका बाली भित्र्याउन र नयाँ बाली लगाउन नपाएको भन्दै हनुमानगरका बासिन्दा आक्रोशित बनेका हुन् ।
सुवर्ण गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको तर अहिले सामान्य भइसकेको बताए ।