उपत्यका छिर्न खोज्ने एम्बुलेन्स र प्रेसका गाडी पनि फिर्ता !

बिहिबार, २५ बैशाख २०७७

काठमाडौं – कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन र सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउ)लाई प्रभावकारी बनाउन प्रहरीले राजधानी बाहिरबाट काठमाडौं भित्रिने सवारी प्रवेशमा कडाइ गरेको छ ।

लकडाउन फितलो भएको, विना पासका गाडी पनि धमाधम काठमाडौं छिरेको र कोरोना संक्रमित भेटिएका क्षेत्रका सर्वसाधारण पनि काठमाडौं आउन थालेको पाइएपछि उपत्यका भित्रने सबै नाकामा प्रहरीले कडाइ गरेको हो ।

बुधवार महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुख डीआईजी विश्वराज पोखरेल र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली तथा सशस्त्र प्रहरीका उपत्यका इञ्चार्ज डीआईजी चन्द्रप्रकाश गौतम नागढुंगामा पुगेर अनुगमन गरेका थिए ।

अनुगमनका लागि पोखरेल र गौतम नागढुंगाभन्दा तल धादिङ र काठमाडौंको सीमा झ्याप्ले खोलासम्म पुगेका थिए । प्रहरीले विनापास हिँडेका, पुरानो पास देखाएर हिँडेका, यात्रु बोकेका एम्बुलेन्स र एक ठाउँको पास बनाएर अर्को क्षेत्रमा हिँडेका गाडी र मोटरसाइकललाई झ्याप्ले खोलाबाटै फर्काएको थियो ।

‘लकडाउन प्रभावकारी बनाउन अनावश्यक मान्छेलाई उपत्यका प्रवेशमा कडाइ गरेका छौं,’ नागढुंगामा भेटिएका डीआईजी पोखरेलले भने । प्रहरीले मंगलवार पनि दर्जनौं सवारी साधनलाई फिर्ता पठाएको थियो ।

‘सूचना विभागको पास समेत नभएका व्यक्तिले पत्रकार हुँ भन्दै गाडीमा पाँचजना यात्रु समेत राखेर हिँडेको पाइयो,’ चेकिङमा खटिएका एक प्रहरी अधिकारीले भने ।

यसरी पासको दुरुपयोग गर्नेलाई जहाँबाट आएको त्यतै फर्काइदिएको उनले बताए । गाडीमा प्रेस लेखेर पोखराबाट आएको बा १२ च ५४५ नम्बरको गाडीलाई परिचयपत्र देखाउन नसकेपछि प्रहरीले झ्याप्लेखोलाबाट फिर्ता पठाइदिएको थियो । प्रेस लेखेर हिँडेको अर्को एउटा गाडीलाई पनि फर्काइएको थियो ।

‘लकडाउनको समयमा पत्रकारको नाममा गैरपत्रकारले प्रेस शब्दको दुरुपयोग गरेको पाइएको छ, सूचना विभागको परिचयपत्र बोकेकोलाई रोकेका छौनौं,’ नागढुंगामा खटिएका एक प्रहरी अधिकारीले भने ।

कतिपय औषधि बिक्रेता र सप्लायर्सले समेत गाडीमा अस्पताल (एच) लेखेर हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ । परिचयपत्र माग्दा यसरी काठमाडौं बाहिरबाट आएका व्यक्तिहरूले अस्पतालमा सामग्री सप्लाइ गर्ने गरेको बताएका थिए ।

उनीहरूलाई पनि प्रहरीले फर्काइदिएको थियो । पासको दुरुपयोग बढेको र अनावश्यक मान्छेहरू राजधानी भित्रिन खोजेपछि चेकजाँचमा कडाइ गरिएको ज्ञवालीले बताए । उनका अनुसार हिजो नागढुंगाबाट ५४ वटा सवारी साधनलाई फिर्ता पठाइएको थियो ।

दूध, तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडी, बिरामी बोकेका एम्बुलेन्सलाई भने आवतजावतमा रोक लगाइएको छैन । केही एम्बुलेन्सले बिरामी नभई यात्रु ओसार्ने गरेको पाइएको प्रहरीले बताएको छ ।