सांसदहरुका लागि बन्यो कडा आचारसंहिता, पालना होला त ?

बिहिबार, २५ बैशाख २०७७

काठमाडौं – भोलीदेखि सुरु हुने संसदको बजेट अधिवेशनमा सहभागी हुने सांसद र अन्य व्यक्तिहरुका लागि कडा आचारसंहिता तयार पारिएको छ ।

बानेश्वरस्थित संसद भवनमा भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकले आचारसंहिता तयार पारेको संसद सचिवालयले जनाएको छ ।

समितिले विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाइने छ भने राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर सदस्यहरु नियमितरुपमा एउटै सिटमा बस्नेछन्।

प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य सदस्यहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नेछन्।

यी हुन् बैठकका सहभागीले पालना गर्नुपर्ने आचारसंहिताः

– सबै सहभागीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ।

– बैठक अवधीभर सबैले अनिवार्य रुपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्नेछ ।

– सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ।

– सकेसम्म समूहगत छलफल नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।

– आफूलाई स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदी) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ।

– बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ।

– बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ।